राजपा रणनीति: समर्थन फिर्ता लिएर सरकारलाई घेराबन्दी गर्ने



काठमाडौँ: मधेसकेन्द्रित दल राजपा नेपालले संविधान संशोधनको मुद्धा फेरी चर्काउने सँकेत गरेको छ । ३ वर्षअघि संविधानप्रति असन्तुष्टी जनाउँदै नाकाबन्दी सहित आन्दोलन गरेको राजपाले पुन: संविधान संशोधनको मुद्धा चर्काउने सँकेत गरेको हो । ९ महिना अघि संशोधनको आशमा सरकारलाई समर्थन गरेको राजपाले यहि साता समर्थन फिर्ता लिएर आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ ।

महासचिव केशब झाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दीमा पर्ने चेतावनी दिए । उनले भने, 'वार्ता तथा सम्वादमार्फत संविधान संशोधनबारे समाधान खोज्दै आएका थियौं । तर, अहिलेसम्म संशोधन भएन अव आन्दोलनको बिकल्प छैन ।' झाले भने, “सरकारलाई दिएको समर्थन अब फिर्ता लिन्छौं । काउन्टडाउन सुरु भैसक्यो ।' छठ सकिएलगत्तै १० दिनको समय दिएको भन्दै उनले अब ५ दिन बाँकी रहेको बताए । 'हामी अहिले बाध्यकारी अवस्थामा छौं । अब समर्थन फिर्ता लिएर अघि बढ्छौं ।' उनले भने ।

सरकार गठन हुँदा प्रधानमन्त्री ओलीसँग मधेसका जनता आक्रोशित रहेको बेला आफूहरुले समर्थन दिएर हातेमालो गरेको झाले बताए । ३ वर्षदेखि वार्ता र सम्वादमार्फत संविधान संशोधनबारे समाधान खोज्दै आए पनि सरकार तयार नभएको उनको भनाई छ । सरकार बनेको ९ महिना बितिसक्दा पनि संविधान संशोधनको लागि इमानदार प्रयत्न नगरेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्