भोलीदेखि लागू हुने बैंक तथा फाइनान्सले घटाए ब्याजदर



काठमाडौं ।   वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंक तथा वित्तीय संस्थाले आज सूचनामार्फत सो कुराको जानकारी दिएका हुन् ।

भोलि चैत १ देखि निक्षेपमा ०.४ प्रतिशत र कर्जामा १ प्रतिशत प्रिमियमदर घटाउने निर्णय भएको संघका अध्यक्ष सुनिल केसीले जानकारी दिए । उनले संघ ऋणको ब्याजदर घटाउनमा केन्द्रित भएको बताए । हाल बैंकहरूले कर्जामा आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए । अब १ प्रतिशत घटेपछि आधारदरमा ५ प्रतिशतसम्म प्रिमियमदर तोक्नेछन् ।

यस्तै, निक्षेपतर्फको साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिनेछन् । यसअघि साधारण बचतमा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ८.४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो । मुद्दती निक्षेपको ब्याजदर भने स्थिर राखिएको छ । हाल बैंकहरूले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन् ।

यस्तै, संस्थागततर्फ ९ प्रतिशत र ‘रेमिट्यान्स’ मुद्दती खातामा १२ प्रतिशत ब्याजदर तोकिएको छ । यस्तै, विकास बैंकहरूको छाता संगठनका रूपमा रहेको डेभलपमेन्ट बैंकर्स एसोसिएसनले चैतका लागि मुद्दती निक्षेपको ब्याजदर ०.२५ प्रतिशतसम्म घटाएको छ ।

संघको निर्णयअनुसार विकास बैंकहरूले चैत महिनादेखि एकवर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११।६० प्रतिशत कायम गरेको छ । त्यस्तै, एक वर्षभन्दा कमको मुद्दती निक्षेपको ब्याजदर ११.५० प्रतिशत कायम भएको छ ।

हाल विकास बैंकहरूले एकवर्षे वा सोभन्दा बढी दुवैको व्यक्तिगत मुद्दती निक्षेपमा ११.७५ प्रतिशत ब्याजदर दिँदै आएका थिए । यसैगरी, ब्याजदर घटाएसँगै विकास बैंकहरूले चैतमा एकवर्षे वा सोभन्दा माथिको संस्थागत मुद्दती निक्षेपमा ९.६० प्रतिशत र साधारण बचतमा न्यूनतम ६.६० प्रतिशतदेखि ८.६० प्रतिशत ब्याजदर प्रदान गर्नेछन् ।

त्यसैगरी, नेपाल वित्तीय संस्था संघ (फाइनान्स) ले मुद्दती निक्षेपको ब्याजदर ०.२० प्रतिशतले घटाएको छ । संघले तीन महिनामाथिको निक्षेपको ब्याजदर ०.१५ प्रतिशत घटाउने निर्णय गरेको छ । फाइनान्स कम्पनीहरूले एक वर्षको मुद्दती निक्षेपमा १२.१० प्रतिशत ब्याज दिँदै आएकामा चैत १ गतेदेखि ११.९० प्रतिशत ब्याजदर कायम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्