भक्तपुरमा बस, ट्रक र टिपर ठोकियो, दुई जनाको मृत्यु



भक्तपुर : टिपर, ट्रक र बस आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । शनिबार राति करिब ११ बजे  सूर्यविनायक–तीनकुने सडकखण्ड अन्तरगत मध्यपुरथिमि नगरपालिका–४ नयाँथिमिमा ट्रक र टिपरसँग काठमाडौंबाट काभ्रे जाँदै गरेको बस ठोक्किदाँ ट्रक चालक र सहचालकको मृत्यु भएको हो । 

नयाँथिमिस्थित क्षयरोग अस्पताल नजिक चेकिङको लागि प्रहरीले रोकिराखेको बा २ क ३९३५ नम्बरको टिपर र बा २ ख १६५४ नम्बरको निसान ट्रकलाई सोही दिशाबाट आउँदै गरेको बा ५ ख ३५६५ नम्बरको बसले ठक्करदिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीका प्रमुख डीएसपी मिलन केसीका अनुसार मृत्यु हुनेमा बा २ ख १६५४ नम्बरको निसान ट्रक चालक काभ्रे बनेपा नगरपालिका–४ नालाका ३४ वर्षीय राजेन्द्र श्रेष्ठ र सहचालक सोही स्थानका २८ वर्षीय सार्जन श्रेष्ठ छन् ।

चेकजाँचको लागि रोकिराखेको ट्रकलाई तीव्रगतिमा आएको बसले ठक्कर दिएपछि सख्त घाइते उनीहरुको शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको डीएसपी केसीले बताए ।

टिपर र बसको चेपुवामा परेको ट्रकमा पूर्णरुपमा क्षति पुगेको छ भने, बस तथा टिपरमा पनि क्षति पुगेको छ । बसचालक काभ्रे पनौती नगरपालिका–३ का ३६ वर्षीय सुरेश सापकोटालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्