शेख र झालाई जनही २-२ लाख दिने मधेस सरकारको घोषणा



काठमाडौं । मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई जनही रु दुई लाख पुरस्कार दिने भएको छ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश गरेकामा खुसी व्यक्त गर्दै मधेस प्रदेशले टोलीका महत्वपूर्ण खेलाडीद्वय झा र शेखलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।

दुवैजना मधेसबाट प्रतिनिधित्व गर्ने खेलाडी रहेको उल्लेख गर्दै प्रदेश सरकारले जनही रु दुई लाख प्रोत्साहनस्वरुप दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरिले जानकारी दिए। सानदार जित हासिल गरेकामा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली टोलीलाई बधाई ज्ञापनसमेत गरेका छन्।

बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपालले युएईलाई रोमाञ्चक खेलमा डकवर्थ लुइस नियमका आधारमा नौ रनले पराजित गरेको हो। जितसँगै नेपालले एकदिवसीय विश्वकप क्रिकेटको क्वालिफायर खेल्ने तय भएको छ।

प्रतिक्रिया दिनुहोस्