क्रिकेट खेलाडीलाई जनही ३ लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय क्रिकेट टिमका सदस्य (खेलाडी)लाई जनही ३ लाख रुपैयाँ पुरस्कारको घोषणा गरेका छन्। विजेता खेलाडीहरूलाई आज बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त पुरस्कारको घोषणा गरेका हुन्।

प्रधानमन्त्रीको निम्तोमा विश्वकप छनोटमा पुगेका नेपाली टिमका सदस्य, प्रशिक्षक र अफिसियलहरू आज बिहान प्रधानमन्त्री निवास पुगेका थिए।

‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डले बधाइ ज्ञापन गर्नुहुँदै जनही रू ३ लाख राशीको पुरस्कार घोषणा गर्नुभएको छ,’ प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्यान्डलमा लेखिएको छ।

बिहीबार संयुक्त अरब ईमिरेट्स (यूएई)लाई ९ रनले पराजित गर्दै नेपाल एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा प्रवेश गरेको छ। बिहीबार नेपालले यूएईको प्रतिस्पर्धा गर्दा प्रधानमन्त्री प्रचण्ड खेलाडीलाई हौसला दिन तथा खेल हेर्न त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्