
काठमाडौं । प्रदेश सरकार मातहत रहेपछि रामेछाप जिल्ला अस्पतालको सेवा विस्तारसँगै सेवाग्राहीसँगको पहुँच फराकिलो भएको छ। विशेषज्ञ सेवासहित विभिन्न २० प्रकारका सेवा दिन थालेपछि अस्पतालमा सेवाग्राहीको चाप बढ्न थालेको छ।
यस अस्पतालमा ४ वटा ओपीडी वार्ड, २९ वटा शय्या, ५२ जना कर्मचारी र १० वटा विभाग छन्। विगतमा प्रसूति सेवासमेत नियमित नभएको अस्पतालले डायलाइसिस सेवा पनि सुरु गरेको छ। केही महिनाअघि सुरु भएको यो सेवाको बिहीबार बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले उद्घाटन गरे।
हालसम्म ३ जनाले डायलाइसिस सेवा लिएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. गगन अधिकारीले जानकारी दिए। अब डायलाइसिस सेवा लिन काठमाडौं र अन्यत्रका ठूला अस्पतालमा पुग्नुपर्ने बाध्यता अन्त्य भएको उनको भनाइ छ।
विगतदेखि नै बर्थिङ सेन्टर सञ्चालन भएको अस्पतालमा पछिल्लो समय विशेषज्ञ चिकित्सकसहितको सेवा सुरु भएपछि प्रसूति गराउनेहरूको संख्या बढ्न थालेको छ। चालू आर्थिक वर्षमा यस अस्पतालबाट ७५ जनाले प्रसूति सेवा लिएकामा ४४ जनाको अपरेसन भएको छ। अस्पतालको स्तरोन्नतिका लागि रामेछाप नगरपालिकाले पनि सहयोग गरेको छ।
डायलाइसिस र प्रसूति सेवा सञ्चालनका लागि १ चिकित्सकसहित ६ जना कर्मचारी नगरपालिकाले सहयोग गरेको नगरका स्वास्थ्य शाखाका सहसंयोजक रामशरण पौडेलले जानकारी दिए। २०२० सालमा रामेछाप हेल्थ सेन्टरको रूपमा स्थापित यो अस्पताल सुरुआती समयमा निकै चर्चित थियो । कुनै बेला सिन्धुली र ओखलढुंगाका बिरामीसमेत यहाँ आउने गर्थे । अस्पताल पुरानो सदरमुकाम रामेछाप बजारबाट नजिकै छ । जिल्लाकै पहिलो सरकारी स्वास्थ्य संस्था सदरमुकाम मन्थली सरेपछि ओझेलमा परेको थियो ।
२०५० सालमा यसले जिल्ला अस्पतालको मान्यता पाएको थियो । प्रदेश मातहतको अस्पताल बनेपछि यहाँको स्वास्थ्य सेवामा सुधार भएको हो। अहिले अस्पतालको भौतिक संरचनादेखि सेवा, सुविधा फेरिएपछि अस्पतालमा सेवाग्राहीको चाप बढ्न थालेको छ।
सूचना प्रविधिमैत्री सेवालाई छिट्टै कार्यान्वयन गर्ने सुपरिटेन्डेन्ट डा. अधिकारीले बताए । ‘अधिकांश सार्वजनिक सेवा प्रदायक संघसंस्था सूचना प्रविधिमैत्री बनिसकेका छन्, हामी पनि अन्तक्र्रियात्मक वेबसाइटसहित त्यस्तो सेवाको तयारीमा छौँ’, उनले भने ।