विराटनगरमा आजदेखि नेपाल-भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता हुँदै



विराटनगर । नेपाल-भारत महिला मैत्री क्रिकेट प्रतियोगिता विराटनगरमा हुने भएको छ। नेपाल क्रिकेट फाउन्डेसनद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मेरीलीवोन क्रिकेट क्लब संयुक्त अधिराज्य, रेड मड कफी र न्यूरो अस्पताल विराटनगरको सहयोगमा विराटनगर–६ स्थित ज्वाला क्रिकेट मैदानमा चैत ४, ५, ६ र ७ गते ३ वटा टी-२० र एउटा ५० ओभरको मैत्रीपूर्ण महिला क्रिकेट खेल प्रतियोगिता हुने जानकारी दिइएको छ।

फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले प्रतियोगितामा भारतको अल इन्डिया वुमन टी-२० क्रिकेट एशोसिएशन र विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीबीच मैत्रीपूर्ण प्रतियोगिता हुने बताए। भारतीय टीममा विभिन्न राज्यबाट टी-२० खेल्ने खेलाडीको सहभागिता हुने जानकारी उनले दिए।

नेपाल तर्फबाट अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता रहेका महिला खेलाडी रहने छन्। प्रतियोगिताबाट २ मुलुकबीचको खेल सम्बन्ध विकसित हुनुका साथै नेपालको क्रिकेट खेलको विकासमा सहयोग पुग्ने नेपाली टोलीका कप्तान रुविना क्षेत्रीले बताए।

मैत्रीपूर्ण खेलमा उत्कृष्ट ब्याटर, बलर, खेलाडी र किपरलाई पुरस्कृत गरिने छ। नेपालमा क्रिकेटको स्थानीयस्तरमा विकास गर्नका लागि फाउन्डेसनले आगामी दिनमा पुरुष तथा महिलाको प्रतियोगिताको आयोजना गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्