ऐतिहासिक उपलब्धि नजिक नेपाली मुक्केबाज



काठमाडौं । भारतको नयाँ दिल्लीमा जारी विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपाली महिला मुक्केबाजको सानदार प्रदर्शन कायम छ। सोमबार भएको ५२ केजी तौल समूहको खेलमा नेपालकी अञ्जनी तेली प्रतियोगिताको शीर्ष वरीयताका खेलाडी स्टर्लिङ क्याथरिन मारीलाई हराउँँदै क्वार्टरफाइनलको यात्रा तय गर्न सफल भइन्।

तेलीको यो उपलब्धिमा नेपाली टोलीका प्रशिक्षक प्रकाश थापा मगरको प्रशिक्षणले मुख्य भूमिका खेलेको छ। ‘हामीले छोटो समयमा पनि अत्यन्त सही प्रशिक्षण गरेकाले त्यसको प्रभाव अहिले दखिएको छ’, थापाले भने।

थापाकै विचारमा यसअघि सुस्मा तामाङले पनि विश्व वरीयता क्रमको दोस्रो स्थानमा रहेकी खेलाडीसँग ‘नेक टू नेक’ प्रतिस्पर्धामा हार बेहोरेकी थिइन् । ‘हामी सुस्मा र अञ्जली दुवै खेलाडीबाट उज्ज्वल भविष्यको सम्भावना देख्न सक्छौँँ’, प्रकाशले भने।

अञ्जनीले बुधबार उज्वेकिस्ताकी काजारोजा पेरुभा र बुल्गेरियाकी अपनोभिच यालोभाबीचको विजेतासँग खेल्नेछिन्। क्वार्टरफाइनलमा जित हात पारे सो जित सम्भवतः नेपाली खेलकुदकै सबैभन्दा महत्वपूर्ण उपलब्धि हुनेछ।

यसअघि नेपाली खेलकुदको सबैभन्दा ठुलो सफलता सन् १९९७ मा संगीना वैद्यले जितेको तेक्वान्दोको एसियाली च्याम्पियनसिपको स्वर्ण पदक थियो। बक्सिङकै हकमा सन् २००९ मा नेपालले एसियाली महिला बक्सिङ च्याम्पियनसिपमा पाएको पदक महत्वपूर्ण सफलता थियो। त्यसअघि एसियाली खेलकुदमा नेपालले जितेको कास्य पदक महत्वपूर्ण उपलब्धि थियो ।

सन् १९८६ को एसियाली खेलकुदमा दलबहादुर राना मगर, सुशील पोखरेल, तुलबहादुर थापा र मनोज श्रेष्ठले कास्य पदक जितेका थिए । सन् १९९० को एसियाली खेलकुदमा चित्रबहादुर गुरुङ कास्य पदक जित्न सफल भए।

सन् २०१० मा नेपालका दीपक मर्हजनले कास्य पदक जिते। दीपक अहिले टोलीको प्रशिक्षक छन्। यस प्रतियोगितामा सफलता पाए प्रकाश र दीपक नेपाली खेकलुदमा खेलाडी र प्रशिक्षक दुवै भूमिकामा उत्तिकै सफल हुने व्यक्तिका रूपमा रहनेछन्।

काठमाडौंमा भएको आठौँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका प्रकाशको प्रशिक्षणमा नेपालले सन् २०१९ मा भएको १३औँ दक्षिण एसियाली खेलकुदमा ३ स्वर्ण पदक जितेको थियो।

टोली प्रशिक्षक थापा यसबीचको लामो समयको अन्तरालमा तेली र सुस्माको प्रदर्शन सबै नेपालीका लागि गर्वको विषय भएको प्रतिक्रिया दिन्छन् । उनले आसन्न दिनमा सही प्रशिक्षण र निश्चित योजना भएमा नेपाली बक्सिङ विश्व स्तरीय खेलाडीसँग प्रतिस्पर्धा गर्न तयार भएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्