तेहरो वायुको मिश्रणले मध्य वर्षाको झल्को



काठमाडौं । अपराह्नपछि मौसम बदलिने, क्षणभरमै मेघ गर्जिंदै वर्षा भएर र डेढ-दुई घन्टामा मौसम सुधार हुनु मनसुनपूर्वाद्र्ध अर्थात् ‘प्रि-मनसुन’ गतिविधि हो ।

तर, यो साता देशका अधिकांश भेगमा मध्य वर्षात्को झल्को दिने गरी प्रि-मनसुन सक्रिय भएको छ । मनसुनअघि वर्षा सक्रिय र कमजोर गराउन स्थानीय वायु सक्रिय भइरहेका बेला अरब सागर र बंगालको खाडीबाट पर्याप्त जलवाष्पसहितको वायु भित्रिएपछि मौसम प्रभावित हुन थालेको छ ।

३ थरी वायुको सम्मिश्रणले प्रि-मनसुन बलियो बनेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्दकुमार झाले बताए । यो बेला स्थानीय वायुको असर बढी देखिने बताउँदै उनले भने, ‘यही बेला भारतको उत्तर प्रदेशमा विकास भएको न्यूनचापीय प्रणालीको प्रत्यक्ष-अप्रत्यक्ष असर पनि भित्रिएकाले अहिले मौसमी प्रभाव बढी देखिएको हो ।’

यो साता देशका अधिकांश भेगमा मध्यमदेखि हल्का वर्षा भएको छ । २४ घन्टाको अवधिमा (मंगलबार साँझसम्ममा) काठमाडौं उपत्यकामा ९ मिलिमिटर वर्षा हुँदा देशभर सबैभन्दा बढी वर्षा धनगढीमा भएको छ । त्यहाँ ६० दशमलव ९ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । डडेलधुरमा ४६ दशमलव ७, पोखरामा २८ दशमलव ८, दिपायलमा २७ दशमलव ४, सिमरामा २६ दशमलव ४, ताप्लेजुङमा २३ दशमलव २, ओखलढुंगामा १७ दशमलव ८, नेपालगन्जमा १७ दशमलव १, धनकुटमा १३ दशमलव ५ र वीरेन्द्रनगरमा १२.५ मिलिमिटर वर्षा भएको महाशाखाको तथ्यांक छ ।

मौसमविद्हरू २४ घन्टाको अवधिमा १० मिलिमिटर वर्षाको मात्रालाई हल्का, १० देखि ५० लाई मध्यम र ५० देखि १०० मिलिमिटरलाई भारी वर्षाका रूपमा व्याख्या गर्छन् । सोभन्दा माथिको मात्रालाई अतिभारी वर्षाका रूपमा लिइन्छ । अहिले धनगढीमा भएको वर्षा भारी हो ।

सुदूरपश्चिम प्रदेशमा भारतको उत्तर प्रदेशमा विकास भएको न्यूनचापीय प्रणालीको असरसमेत थपिएकाले धनगढी र आसपास भेगमा वर्षाको मात्रा बढी भएको मौसम विज्ञान विभागका अधिकारीहरूको बुझाइ छ । विभागका अनुसार आज (बुधबार) र भोलि बिहीबार धेरै ठाउँको मौसममा सुधार हुनेछ ।

शुक्रबारदेखि अर्को मौसमी प्रणाली भित्रिने भएकाले पुनः प्रि-मनसुन सक्रिय हुने विभागको प्रक्षेपण छ । अंग्रेजी महिनाका मार्च, अप्रिल र मे मनसुनपूर्वाद्र्ध अवधि हो । नेपालमा यो ३ महिनाको औसत वर्षा २२६ मिलिमिटर हो । तर, यसपटक विश्व मौसम संगठन (डब्लुएमओ) र डब्लुएमओ आबद्ध विभिन्न १३ वटा अग्रणी संस्थाको जलवायु प्रारुपले मनसुनअघि नेपालका धेरै भेगमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसमी क्यालेन्डरअनुसार १७ फागुनदेखि प्रि-मनसुन सुरु भएको छ । कोसी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अन्यत्र औसत हाराहारी वर्षा नहुने डब्लुएमओलगायत संस्थाको पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्