मापदण्ड छैन, पुरस्कारको ओइरो



काठमाडौं । गत साता काठमाडौंमा भएको आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत भएको खेलमा संयुक्त अरब इमिरेट्सलाई नेपालले पराजित गरेपछि देशभरि खेलाडीलाई सम्मान गर्ने होडबाजी चलेको छ। नतिजापछि खेलकुद विकासका लागि अन्य सम्पूर्ण पाटो बिर्सिएर पुरस्कारको होडबाजी गर्नु सस्तो लोकप्रियताका लागि चालिएको कदमबाहेक केही हुन सक्दैन।

क्रिकेटका लागि ८ वर्षअघि सुरु गरिएको मूलपानी क्रिकेट रंगशाला अझै निर्माण सकिएको छैन। चितवनमा धुर्मुस–सुन्तलीले बनाउन लागेको रंगशाला अहिले ‘कोमा’मा छ। बैतडीमा १ दशकअघि सुरु गरिएको रंगशाला पनि निर्माण हुन सकेको छैन।

पूर्वाधार मात्र होइन, अहिले नेपालमा प्राविधिक जनशक्तिमा पनि ध्यान दिइएको पाइँदैन। लामो समयदेखि नेपाली टोली विदेशी प्रशिक्षकमा निर्भर छ। स्वदेशी प्रशिक्षक तयार पार्ने कुरामा समेत सरकार मौन छ।

संघीय र प्रान्तीय सरकार भौतिक सरंचनालगायत विषयमा मौन रहेकै समयमा लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई १ लाख तथा जुनियर खेलाडीलाई ५० हजार रूपैयाँ प्रदान गर्ने भएको छ। दाङमा २ दिनअघि बसेको प्रदेश क्याबिनेट बैठकले सो निर्णय गरेको हो।

यसअघि नै सुदूरपश्चिम प्रदेश सरकारले २ खेलाडीलाई २ लाख रूपैयाँसहित सम्मान गर्ने निर्णय गरेको थियो। प्रदेश सरकारले दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई सो सम्मान गर्ने निर्णय गरेको हो। प्रदेश सरकारले राष्ट्रिय टिममा पर्न सफल सन्दीप जोरालाई १ लाख तथा अर्जुन साउद तथा कमलसिंह ऐरीलाई ५० हजार दिने निर्णय गरेको हो।

त्यसो त नेपालले युएईलाई हराएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टोलीका प्रत्येक खेलाडीलाई ३ लाख रूपैयाँ दिने निर्णय गरेका थिए। यस्ता घोषणा अन्य धेरै निकायले गरिरहेका छन्। अहिले संघीय सरकारदेखि स्थानीय सरकार खेलाडीले पाएको यो सम्मानलाई अन्यथा लिन पक्कै मिल्दैन। खेलकुद विकासको एउटा मुख्य आधार खेलाडी सम्मान हो। तर, अहिलेको यो सम्मान लहरको रूपमा चलिरहेको छ। त्यसको आधारबारे प्रश्न उठ्नु स्वाभाविक हो।

खेल विकासका लाागि राज्यका निकायले गर्ने काम थुप्रै छन्। प्राविधिक विकास, भौतिक संरचनाको विकास तथा दक्ष जनशक्ति विकास पनि प्रमुख हुन्। यी सबै खेल विकासका आधार हुन्। अहिले राष्ट्रिय खेलकुद परिषद्मा २०० हाराहारी खेल संघ दर्ता भएका छन्। यी यीमध्ये ४० हारहारी संघ सक्रिय छन्। राज्यका कुनै पनि निकायसँग खेलकुदका लागि आवश्यक विषयको मापदण्ड छैन।

भिन्न खेलका परिणामको मापनको कुनै आधार छैन। नेपालमा क्रिकेट खेलाडीलाई पुरस्कारको घोषणा भइरहँदा नेपाली मुक्केबाज अञ्जनी तेलीले विश्व च्याम्पियनसिपमा क्वार्टरफाइनलको यात्रा तय गरिन् । यो नै नेपाली खेलकुदमा महत्वपूर्ण सफलतामध्येको एक हो।

विगतमा पनि यस्ता धेरै घटना भएका थिए । सन् २०१९ मा सितेरियो कराते च्याम्पियनसिपमा नेपालले रजत पदक जित्दा त्यसलाई राज्यले पूर्ण रूपमा बेवास्ता गरेको थियो । त्यसै वर्ष काठमाडौंमा भएको एसियन एमेच्योर चेस च्याम्पियनससिपको उपाधि पनि नेपालले जितेको थियो। सो उपलब्धिको पनि राज्यका तर्फबाट कुनै सम्बोधन भएन।

यसैगरी जुडोको फुपू ल्हामु खत्रीले एसियन च्याम्पियनसिपमा पदक जित्दा पनि राज्य मौन छ। नेपालमा सम्मान र पुरस्कारबारे प्रष्ट निर्देशिका र मापदण्ड नै छैन। कुनै पुरस्कार जित्दा तत्कालीन समयमा नेतृत्वको ‘मुड’ का आधारमा पुरस्कार घोषणा गर्ने चलन पुरानै हो।

प्रतिक्रिया दिनुहोस्