जीवन र पानी परिपूरक



  • अच्युतप्रसाद पौडेल ‘चिन्तन’

काठमाडौं । गर्मी मौसमको आगमनसँगै हाम्रा सामु पानी दिवस आएको छ । २२ मार्चलाई पानी दिवसका रूपमा मनाइँदै आएको छ। पानी नपाए पनि यसको झल्को मेट्दै जिब्रो रसाउनुपरेको अवस्था छ। जहाँ पानी छैन, त्यहाँ जीवन छैन भन्दा हुन्छ।

वनस्पतिदेखि संसारका कुनै पनि प्राणी पानीबिना जिउन सक्दैनन्। ‘पानी हाम्रो जिन्दगानी’ उखानै छ। संसार ईश्वरको विशाल साकार रूप । संसारमा दुई तिहाइ पानी नै र सूक्ष्म रूप मानिसको शरीरमा पनि पानीको मात्रा दुई तिहाइ नै त हो। पानी कम हुनासाथ शरीर बिसन्चो हुन्छ, रोगहरूले आक्रमण गर्छन् र मानव शरीर निष्प्रयोजन हुन्छ।

हामी पानीको महत्वलाई उजागर गर्न हरेक वर्ष जल दिवस त मनाउँछौँ तर पानीप्रतिको सचेतनाको अभावले पानीबाटै धेरै रोगका शिकार पनि बन्छौँ। संयुक्त राष्ट्रसंघले २२ मार्चलाई विश्व पानी दिवसका रूपमा मनाउन थाल्यो, सन् १९९३ देखि हरेक वर्ष । नेपालमा सन् २००९ देखि मात्र। गत वर्षकोे नारा ‘भूमिगत पानी : अदृश्यलाई दृश्य बनाउने’ भन्ने थियो । नेपालमा ६ हजारभन्दा बढी नदीनालाबाट पानी खेर गएको छ। पानी जमिनमा छिर्दा रिचार्ज सरह हुन्छ, सडक पिचले जमिनभित्र पानी जान नसक्ने अवस्था छ।

भूमिगत पानीमा अमोनिया, नाइट्रेट, आइरन र आर्सेनिक हुने हुँदा सिधै पिउन अयोग्य हुन्छ। नेपालमा सन् २०३० सम्ममा सबैका लागि पानी र सरसफाइको लक्ष्य छ। विश्वमा ९७ प्रतिशत पानी समुद्री छ, जुन खासै प्रयोग हुँदैन। ताजा पानी जम्मा ३ प्रतिशत, त्यसमा दुई तिहाइ हिमाली र हिमनदीमा छ, कतै हिउँमै पुरिने गर्छ पानी, प्रयोगयोग्य त केवल १ प्रतिशत हो । संसारमा पानी उत्पादन र वितरणकै लागि ३५० अर्ब डलर वार्षिक खर्च हुने गरेको छ । माग बढी छ, आपूर्ति संकुचित । पानीजन्य रोगले विश्व त्रसित छ, यसको माग र पूर्तिकै लागि तेस्रो महायुद्धको सम्भावनासमेत छ ।

पूर्वीय धर्म दर्शनले पानी शुद्ध हुनुपर्छ, पानीमा नाग देवता बस्ने गर्छन्, पानीमा दिसा, पिसाब गरियो भने सिधै मरेका आफ्ना पितृहरूको मुखमा पर्छ, त्यसैले पानीमा फोहोर गर्नुहुँदैन भनी पुर्खाले सिकाए र डरैले पनि पानी सकेसम्म सफा रह्यो। वेदले भन्यो– द्यौ शान्तिः, पृथ्वी शान्तिः, अन्तरिक्ष शान्तिः, आपः शान्तिः, वनस्पतयः शान्ति, औषधयः शान्तिः भनौँ, ब्रह्माण्डभरि सबैको शान्ति। यहाँ आपः भन्नाले पानी हो । पृथ्वीको अर्थ हुन्छ– माटो र अन्तरिक्ष भन्नाले सम्पूर्ण वायुमण्डल भनौँ, सबैथरि औषधिलगायतका वृक्ष, लता र सबै चराचर जगत् । आज त्यसैलाई भूमण्डलीकरण, विश्व एक गाउँ, बसुधैव कुटुम्बकम् आदि नाम दिइएको छ।

राजनीतिक विभाजनका कारण विश्वभरि देशका नाम अलग छन्, काम पनि अलग होलान् तर मानवीयता एउटै हो र पनि हामीलेचाहिँ चोखो पानी पाउने आशा गरेका छौँ । हिमालयका कारण र समुद्रका वरिपरि बस्ने देशहरू समुद्रको नुनिलो पानी प्रयोग गर्न सक्दैनन् । हो, उनीहरूलाई बन्दरगाहको सुविधा छ तर पिउने पानीको अभावमै छन् र पनि समुद्रभित्रै एयरपोर्ट, बाटाघाटा, शहर, वस्ती बसाउन सफल छन् ।

एसियाको सम्भ्रान्त शहर सिंगापुरमा पानीको आफ्नो स्रोत छैन, समुद्रपारि मलेसियाबाट पाइपबाट पानी आपूर्ति हुन्छ तर सडक धाराको पानी खुला पिउनयोग्य छ । आन्तरिक खपत भएको पानीलाई ‘ट्रिटमेन्ट’ गर्छ र पुनः प्रयोग गर्न सकेको छ उसले । कुरो प्रविधिको हो, कुरो सोचको हो र आवश्यकताको पनि। हामीकहाँ ब्राजिलपछिको विश्वकै पानी धेरै भएको अवस्था हो तर शहरमा पिउने पानी छैन, मुख्य शहरका नदीमा पानी होइन, हिउँदमा ढल मात्र बग्छन्, वर्षामा मैलो पानी बग्छ, भएको पानी खेर जान्छ । बिजुली यहीँ सबैभन्दा महँगो छ, पानीको स्रोत मेलम्ची राजनीतिक दुहुनो गाई बनेको छ, कतिबेला त्यो बन्द हुने यकिन छैन।

वर्षाको आरम्भमै यहीँ ताण्डव नृत्य भएको, वस्ती सखाप, अन्न बाली ध्वस्त, अकाल मृत्यु भएको पनि अनुभव ताजै छ । बाढी, पहिरो, भू–क्षय, माटो कटान, बाटो हिलो देशैभरि के हुँदैन ? सबैथरि हुन्छ। सवारी साधन दुर्घटना, अकाल मृत्यु, खण्ड वृष्टि, अतिवृष्टि, अनावृष्टि, जलवायु परिवर्तन, मौसमको बेचैनी, केके हो केके, भनिसाध्य छैन यहाँ।

जंगलमै पानीको स्रोत धेरै हुन्छ, त्यहीँ डढेलो, आगलागी सबैतिर समस्या छ । सिँचाइको अभावले यहीँ कृषि कर्ममा हैरानी, बढी पानीले पुल पुलेसा सखाप, पानी प्रदूषित, पिउन त के नुहाउन हेर्न नहुने नदीको अवस्था छ । मानव सभ्यता पानीको स्रोत छेउछाउबाटै सुरु, घना वस्ती बढी त्यतै, यहाँका अधिकांश वस्ती नदी आसपास मात्र होइन, संसारका सबै ठूला शहर नदी आसपासमै छन् ।

न्यूयोर्क, दिल्ली, संघाई, बैंकक, हङकङ मात्र होइन, संसारका सबै शहर नदीकै नजिक छन्, मानौँ, मानव सभ्यता नै नदी आसपासबाटै भएको हो । काठमाडौंको वस्ती बसाल्नुअघि यहाँको पानी निष्कासन गरेर चोभारको डाँडो काटी वस्ती बसालिएको हो। अहिले यहाँ खानेपानी छैन मात्र होइन, भूमिगत स्रोत सुक्नाले मानव वस्ती नै जोखिममा छ र भूकम्पको खतरामा छ।

काठमाडौं उपत्यकामा खेती त भुसुक्कै भयो, वन, वृक्षहरू सकिए बरु सिमेन्टका खम्बाहरू उठे, भ्यु टावर उठे, कंक्रिटका भवनहरूले जीवन उराठलाग्दो भयो, अव्यस्थित बसोबास र शहरको वृद्धिले अब काठमाडौं सबैको मृत्युको शहर बन्न लागेको छ । वायु प्रदूषणको उच्चजोखिमा छ यो, धुवाँ, धूलो, कार्बनको भण्डार भएको छ काठमाडौं ।

हिमतालहरू फुट्ने, टुट्ने समस्या, हिमनदीको प्रयोग हुन नसकेको, जलविद्युत् परियोजनाहरूमा पर्याप्त लगानी गर्न नसकिएको, यहीँ चर्को बिजुलीको मोल, देशका समस्याहरू धेरै छन् । पानीको सदुपयोग गर्न नजान्दा देश पछि परेको छ ।

वर्षामा पानी परेको आधा घन्टामै बाटो हराउने, सबैतिर जलमग्न हुने अवस्था छ।
राज्यको दीर्घकालीन सोचको अभावमा शहर कुरूप बन्दै छ, समयमा फोहोर उठ्दैन । बन्चरे डाँडामा ३ वर्षमा बन्नुपर्ने ल्यान्डफिल्ड साइट १६ वर्ष बितिसक्दा बनिसकेन र त अब फोहोर विसर्जन नै गर्न नदिने चर्चा चलिसकेको छ ।

ठेकेदारले २ वर्षमा कालोपत्रे गरिसक्ने सम्झौता गर्दा ८ वर्षमा बल्ल ५० प्रतिशत काम भएको देखियो । यहाँ काम हुने भनेको राजनीतिक पदपूर्ति र नयाँ दरबन्दी सिर्जना हो, तुरुन्तै हुन्छ, चुनाव, उपचुनाव धेरै हुन्छन् । छिटोछिटो, केही महिनामै संसद्मा विश्वासको मत लिनु÷दिनुपर्ने हुन्छ । जनजीविकाका विषयमा केही काम हुँदैन ।

ओखरपौवा, बन्चरे डाँडो, सिसडोलमा मात्र होइन, यहाँ फोहोर, पानी, सडक, यातायात, शिक्षा, स्वास्थ्य सबैमा राजनीति हुन्छ र त देशमा टिक्न, बस्न नसकेर खाडीमा भाँडा माझ्न पुग्छन् नेपालीहरू। खेतबारी बाँझै हुन्छ, ठेकेदार र बिचौलियाहरू मिलेर खेती हुने जग्गा घर, घडेरीका लागि प्लटिङ हुन्छ । जग्गा धनी र क्रेताको सम्पर्कबिना नै जग्गाको मूल्य निर्धारण भइसक्छ, उच्चउच्च मूल्यमा ।

मेलम्चीको पानी आयो भनेर राष्ट्रपतिबाट भृकुटीमण्डपमा उद्घाटन गराइयो, उद्घाटन सकिनासाथ पानी बन्द भयो। अहिले पनि पानीमा कोटा छ, धारामा बिल आउँछ, अहँ, पानी आउँदैन । निजी संस्थाहरू गाडीबाट पानी वितरण गर्न अग्रसर हुन्छन्। १० युनिट पानी निःशुल्क दिने बजेटमा पनि घोषणा भयो तर लागू नै भएन।

स्थानीय पालिकाहरूले बजेट खर्च गर्दै पाइप हालेका छन् तर पानी दिन सकेका छैनन् । खानेपानी कार्यालयमा जाँदा ‘यता होइन’ भनी हकार्ने, नगरपालिकामा जाँदा ‘काम भइसक्यो, काम सकियो, पानी आइसक्यो’ भन्ने सुन्दै भुक्तभोगीहरू दिन बिताउँदै छन् । काकाकुले जीवन तड्पाउनु नै राजनीतिको उद्देश्य देखिन्छ । दोहोरो बोली, ठोस निर्णय केही नदिने, जार पानीको व्यापार मजैले चल्न दिने, ट्यांकर सेवालाई मनग्य फाइदा दिलाउने, यो अचम्मको खेल छ काठमाडौंका अधिकांश क्षेत्रमा ।

कतै असमान वितरण छ, कतै पानीको मुहारै देख्न नपाइने जालझेलको अवस्था बानेश्वरको संसद् भवनको भन्दा कम छैन । अन्तिम विश्रामस्थल आर्यघाटको अवस्था, जहाँको पानी छुन पनि नसकिने, जार पानीमा पनि किरा भेटिने, पाइप पानीमा ढल मिसिएर आउने, सधैँ तारे होटलमा गएर न पानी पिउन सकिने, न त सरसफाइ गर्न सकिने अवस्था । नेपालीको चित्कार कसले सुन्ने ?

सुनिन्छ, ठुलाहरूका घर वरिपरि पाइपमा पानी सुक्दैन, ट्यांकरबाट उत्तिकै आपूर्ति हुन्छ, गाडी धुन ट्यांकर पानीको प्रयोग हुन्छ, बाटै हिँड्दा पनि कति कार्यालयहरूका अगाडि खानेपानीको खोला बाढी बगेको छ, यो असमानता कहिलेसम्म ?

समाजवादको नारा, जनता बेसहारा, पशुपक्षीले त पानी सुँघ्न पनि नपाएको अवस्था छ। कुनै नदीहरूमा जलचर नभेटिने अवस्था छ, पानीको अभावले जीव, वन्यजन्तुको बेहालै छ । पशुपतिमा बाँदरले पानी नपाएको अवस्था, घरका छतहरूमा पानी नहुँदा पक्षीहरू सराप्दै फर्कने, यो नारकीय अवस्थालाई कसले, कहिले बुझ्ने त अब ?

शुष्क कण्ठ गृष्मको सिजन सुरु भएको छ, उहिले भए अक्षय तृतीयामा सर्बत–पानी पिएर जीवन धानौँला भनिन्थ्यो । अब धर्मनिरपेक्ष भइसकेपछि अक्षय तृतीयामा सर्बत–पानी कसले बाँड्ला ? हामीकहाँ अभिभावकहरू कहाँ छन् ? सडकमा, चुनावमा, सदनमा खोजी गर्नुपर्ला ।

प्रतिक्रिया दिनुहोस्