जनसंख्याको वृद्धि सन्तुलित देखिएन, यो चिन्ताको विषय हो : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले जनखंख्याको वृद्धि सन्तुलित नदेखिएको भन्दै यो चिन्ताको विषयको भएको बताएका छन्। जनगणना २०७८ को अन्तिम प्रतिवेदन शुक्रबार सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले कम उमेरका व्यक्तिहरुको संख्या क्रमशः घटेको र बढी उमेरका व्यक्तिहरुको संख्या क्रमशः बढेको देखिएको भन्दै यसले जनसंख्या वृद्धि सन्तुलित नरहेको प्रष्ट भएको बताए।

‘जनसंख्याको वार्षिक वृद्धिदर घट्ने क्रममा रहेको देखिएको छ। विशेषगरी हिमाली र पहाडी तथा ग्रामीण क्षेत्रमा जनसंख्या वृद्धिदर द्रुतरुपमा घट्ने क्रममा रहेको देखिएको छ भने तराई तथा शहरी क्षेत्रहरुमा यो दर बढ्ने क्रममा देखिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘२०६८ सालको जनगणनाको तुलनामा परिवारमा अनुपस्थित रही विदेशमा बस्ने व्यक्तिहरुको संख्या पनि बढेको देखिन्छ।’

प्रधानमन्त्रीले जनसांख्यिक परिवर्तन बमोजिमका जनसंख्या व्यवस्थापनका विशेष कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने खाँचो जनगणनाबाट देखिएको पनि बताए। जनगणनाले देशको आर्थिक सामाजिक स्वरुपको यथार्थ स्थिति प्रस्तुत गर्ने भएकाले यसबाट प्राप्त तथ्याङ्कले नेपालको संविधानमा रहेका समाजवाद उन्मुख समावेशी विकास र मौलिक हक अधिकारको कार्यान्वयन र मूल्याङ्कन गर्न सहज हुने प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डले साक्षरता दर ६६ प्रतिशतबाट बढेर करिव ७६ प्रतिशत पुगेको देखिए पनि धेरैजसो सूचकहरुमा ग्रामिण र शहरी क्षेत्रबीच असमानता देखिएको उल्लेख गर्दै त्यससलाई सम्बोधन गरी नेपालमा विद्यमान असन्तुलित बसाइ सराइलाई व्यवस्थित गर्नु पर्ने आवश्यकता देखिएको बताए।

प्रतिक्रिया दिनुहोस्