गुठीको जग्गामा अवैध उत्खनन



  • सूर्य विक

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले सार्वजनिक जग्गामा अवैध उत्खनन गर्ने स्काभेटरसहित ४ वटा टिपर नियन्त्रणमा लिएको छ। वीरगन्ज महानगरपालिका–२८ दर्दवास्थित गुठीको सार्वजनिक जग्गामा करिब २ महिनाअघिदेखि अवैध उत्खनन गर्दै आएको सूचनाका आधारमा महानगरको नगर प्रहरीले टिपर र स्काभेटर नियन्त्रणमा लिएको हो।

नगर प्रहरी निरीक्षक हरिप्रसाद भुसालका अनुसार ना८ख ४१२५, ना७ख ६५९७, ना७ख ६६०३ र ना८ख ५४०३ नम्बरको टिपर र बा२ख ६२३३ नम्बरको स्काभेटर महानगरले नियन्त्रणमा लिएर वीरगन्जको आदर्शनगरस्थित बाल मन्दिरको परिसरमा राखेको छ। महानगर प्रमुख राजेशमान सिंहको निर्देशनअनुसार नगर प्रहरी निरीक्षक भुसालकै नेतृत्वमा दर्दवा पुगेको टोलीले टिपर र स्काभेटर नियन्त्रणमा लिएको हो।

गुठीको नाममा रहेको सार्वजनिक जग्गालाई आफ्नो सम्पत्ति ठानेर निजी स्वार्थका लागि प्रयोग गर्नेहरूलाई कडा कारबाही गर्नुपर्ने वीरगन्ज–२८ का स्थानीय युवा जितेन्द्रकुमार पटेल बताउँछन्। उनी भन्छन्, ‘यो गुठीको सार्वजनिक जग्गामा केही व्यक्तिले करिब २ महिनादेखि उत्खनन गरेर माटो बेचिरहेका छन् । उकालो भएको जग्गा पनि खन्नुका साथै समथर भएको जग्गामा पनि खनेर माटो बेचेका छन्। उनीहरू जो भए पनि कारबाही गर्नुपर्छ।’

कारबाही मात्रै गरेर नपुग्ने बताउँदै उनले अहिलेसम्म खनेको झन्डै २ बिघा क्षेत्रफल जमिनको क्षतिपूर्ति पनि बेहोर्नुपर्ने धारणा राखे। दर्दवास्थित नदीको छेउबाट निरन्तर उत्खनन भइरहेको हुँदा यसले भविष्यमा आफूहरूलाई जोखिम हुनेमा स्थानीय शेष पटेल चिन्तित छन्।

उनी भन्छन्, ‘अहिले जथाभावी जग्गा उत्खनन गर्दा पछि हाम्रै घरखेतमा पनि नदी बग्न सक्छ, छेउमै भएको नदीको पानीले घरखेत डुबाउनुका साथै वर्षायाममा बाढीको डर हुने भयो । अब जसरी हुन्छ यसलाई रोक्नुपर्‍यो ।’ सार्वजनिक सम्पत्ति कुनै एक व्यक्तिको मात्रै नभएर सबैले जोगाउनुपर्ने स्थानीय पटेलको भनाइ छ।
गुठीको जग्गालाई हडप्न खोजेकोप्रति आपत्ति जनाउँदै स्थानीय नवराज गिरी पनि सार्वजनिक जग्गामा उत्खनन गर्न नमिल्ने बताउँछन्।

यसअघि पटकपटक प्रहरी चौकी परवानीपुरलाई खबर गर्दा पनि कुनै पहल नगरेको भन्दै यसमा प्रहरीको पनि मिलेमतो भएको हुन सक्ने स्थानीय विक्रम पटेलको आशंका छ। परवानीपुर प्रहरीले बेवास्ता गरेपछि महानगर प्रमुखलाई खबर गरेको बताउँदै पटेलले महानगरले खबर पाउने बित्तिकै टिपर र स्काभेटर नियन्त्रणमा लिएको भन्दै सराहना गरे । साथै उनीहरूलाई कारबाही गरी क्षतिपूर्ति माग गर्नुपर्ने पटेलको भनाइ छ । महुवन गुठीको नाममा रहेको जग्गा व्यक्तिगत स्वार्थपूर्तिका लागि प्रयोग भइरहेको उनले बताए ।

उनले भने, ‘यहाँ कसैले माटो उत्खनन गरेर प्रतिटिपर १५ सयदेखि ३ हजार रुपैयाँसम्म बेचिरहेका छन् भने कसैले त्यही जग्गामा पोखरी खनेर माछापालन गरिरहेका छन् ।’ पटेलका अनुसार १२ बिघा क्षेत्रफलको जग्गामा पोखरी खनेर माछापालन गरिएको छ। यसमा गुठीका हाकिमहरूको पनि मिलेमतो भएको पटेलको आरोप छ।

नियन्त्रित टिपरको चालकका अनुसार उक्त माटो खन्ने कामको ठेक्का चन्द्रिका पटेल नाम गरेका व्यक्तिले लिएका छन्। यद्यपि, अहिलेसम्म टिपर र स्काभेटर नियन्त्रणमा लिँदा कसैले पनि रोकतोक तथा दाबी गर्न नआएको नगर प्रहरी प्रमुख भुसालले बताए।

महानगरले केही सातायता सार्वजनिक जग्गाको अतिक्रमण हटाउने अभियान चलाएको बताउँदै महानगर प्रमुख राजेशमान सिंहले सार्वजनिक जग्गा व्यक्तिगत रूपमा प्रयोजन गर्नेलाई कारबाही गर्ने चेतावनी दिए। साथै उनले महानगरका अन्य क्षेत्रमा पनि सार्वजनिक वा गुठीको जग्गा दुरुपयोग भएको वा अतिक्रमणमा परेको भए महानगरलाई खबर गर्न पनि आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्