मुम्बई इन्डियन्सले जित्यो वुमेन्स प्रिमियर लिग



मुम्बई । मुम्बई इन्डियन्सले आइतबार पहिलो संस्करणको वुमेन्स प्रिमियर लिगको उपाधि जितेको छ। फाइनलमा उसले दिल्ली क्यापिटल्सलाई सात विकेटले पराजित गरेको हो। दिल्लीले दिएको १ सय ३२ रनको लक्ष्य मुम्बईले १९ ओभर ३ बलमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो।

मुम्बईको जितमा इंग्ल्यान्डकी नाट स्काभर ब्रन्टले अविजित ६० रनको अर्धशतकीय ईनिङ खेलिन्। कप्तान हरमनप्रित कौर ३७ रनमा रन आउट हुँदा अमेलिय कैर १४ रनमा अविजित रहिन्। दिल्लीकी राधा यादवले र जेस जोनसनले समान १/१ विकेट लिइन्।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो। दिल्लीकी कप्तान मेग ल्यानिङले सर्वाधिक ३५ रन बनाइन्। अन्तिम स्थानमा ब्याटिङमा आएकी राधा यादव २७ रनमा अविजित रहँदा शिखा पाण्डे २७ रनमा अविजित रहिन्।

मरिजाने कप्पाले १८ तथा शेफाली बर्माले ११ रन बनाईन्। मुम्बईकी इस्सी विंग र हेली म्याथ्युले समान ३/३ तथा अमेलिया केरले २ विकेट लिइन्।

प्रतिक्रिया दिनुहोस्