
काठमाडौं । पाकिस्तानविरुद्धको तीन खेलको ट्वान्टी–२० शृङ्खला अफगानिस्तानले एक खेल अगावै जितेको छ। युनाईटेड अरब इमिरेट्स (यूएई) मा जारी शृङ्खलाको दोस्रो खेलमा सात विकेटको जित निकालेसँगै अफगानिस्तानले शृङ्खला २–० ले आफ्नो पक्षमा पारेको हो।
यसअघि शृङ्खलाको पहिलो खेलमा अफगानिस्तानले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो। आइतबार शारजाहा क्रिकेट रंगशालामा पाकिस्तानले प्रस्तुत गरेको १३१ रनको लक्ष्य अफगानिस्तानले १९.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो।
अफगानिस्तानको जितमा रहमनुल्लाह गुर्बजले ४४ रन बनाए। इब्राहिम जद्रानले ३८ रन जोड्दा नजिबुल्लाह जद्रान र मोहम्मद नाबी क्रमशः २३ र १८ रनमा अविजित रहे। पाकिस्तानका जमन खान र इह्सानुल्लाहले समान एक विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङमा आएको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रनको योगफल खडा गरेको थियो। पाकिस्तानका इमाद वसिमले ६४ रन बनाएका थिए। कप्तान सदाब खानले ३२, मोहम्मद हरिसले १५ र तयाब ताहिरले १३ रन बनाए।
अफगानिस्तानका फजलहक फारुकीले दुई विकेट लिए। नवीन उल–हक, राशिद खान र करिम जनतले समान एक/एक विकेट लिए। यी दुई टिमबीचको अन्तिम खेल आज (सोमबार) राति हुनेछ ।