के नेपाल विदेशीको चक्करमा परेकै हो ?



  • आदित्यमान श्रेष्ठ

काठमाडौं । ‘नेपाल विदेशीको चक्करमा परेको छ।’ यो यदाकदा नसुनिएको कुरा होइन। नेपालका बुद्धिजीवीहरूले आफ्नो अन्तर्वार्तामा यो कुरा भन्ने गर्थे। तर, यसपालि नेपालको एउटा बलियो राजनीतिक पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाटै यो कुरा सुन्न पाइयो ।

हुनत यस देशमा विदेशीको चलखेल भइरहने कुनै नौलो कुरा होइन। तर, औपचारिक रूपमै एउटा पार्टी नेता, जो यो देशको पटकपटक प्रधानमन्त्री पनि भइसकेका छन्, उनले नै ‘नेपाल भारतको दलाल हो’ भन्नु कम आश्चर्यजनक होइन। उनले यो कुरा फोकटमा बोलेका होइनन् होला ।

केपी शर्मा ओलीले यो आलोचना प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि गर्ने क्रममा बोलेका हुन्। उनले तोकेरै दुइटा कुरा गरेका छन्। पहिलो कुरा, उनले भारतबाट आएको विषादीयुक्त तरकारी परीक्षण नगरी नेपालीको भान्सामा पठाएर भारतीय पक्षको सेवा गरेको कुरा उठाएका छन्। भारतसित रहेको खुला सीमाबाट बिनापरीक्षण आउने गरेको तरकारीले नेपालका किसानहरूले उत्पादन गरेको तरकारीको बिक्री वितरण हुन नसकेको र सडकमा फालिएको दुष्प्रभाव परेको हामीले पनि देखे, भोगेका छौँ ।

यो कुनै नौलो कुरा होइन किनभने केपी शर्मा ओली आफैँ प्रधानमन्त्री हुँदा पनि यो काम हुने गथ्र्यो । उनको हातमा सत्ता हुँदा सिमानामा कोभिडको माहामारी फैलिएको थियो । भारतमा कोभिड बढ्दै जाँदा नेपालमा पनि बढ्दै जाने गथ्र्यो। त्यसबेला सीमा क्षेत्रमा अनेक प्रतिबन्ध लगाइएको थियो । मानिसहरूलाई सिमानामा बस्ने भवनहरू पनि बनाइएका थिए । तर, मानिसहरूको आवतजावत हुँदासम्म ती भवनहरू तयार भइसकेका थिएनन् । आज ती भवनहरूको स्थिति के छ, थाहा छैन ।

ओलीले भनेका छन्, ‘अहिले सरकारमा बस्नेलाई कुनै लाज शरम छैन । भान्साभान्सामा विषादीयुक्त चिज पुग्न दिँदा विदेशी खुसी हुन्छन् कि हुँदैनन् ? त्यही हो कुरा । खुसी हुन्छन् भने नेपाली मरेर के भयो र ? नेपालीको भान्सामा विषादी आएर के भयो ? सकेजति त जाँच्नु पर्‍यो नि ! तर, जाँच्न नपाइने । छिमेकीलाई खुसी पार्ने, आफ्ना जनतालाई विषाक्त चिज खुवाएर मार्ने ? यस प्रकारको नीति लिएको छ सरकारले ।’

ओलीले लगाएको यस आरोपमा सरकार मौन छ। यस भनाइमाथि सरकारी पक्षले कुनै टीका टिप्पणी गरेको छैन। केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला पनि भारतबाट बेरोकतोक तरकारी, फलफूल आदि आउने गरेकै थिए । त्यसबेला पनि विषादीयुक्त तरकारी र फलफूल नेपालीको भान्सामा पुगेकै थियो। त्यसलाई रोक्न ओलीले पनि कुनै ठोस कदम चालेका थिएनन् ।

मुख्य चुरो कुरो के हो भने नेपाल र भारतको सिमाना खुला राख्नु नै नेपालको दुर्भाग्य भएको छ । एउटा स्वतन्त्र देशको रूपमा विकास गर्ने हो भने नेपालको सिमाना कुनै पनि देशसित खुला राख्नुहुँदैन। भारतका गृहमन्त्री अमित शाहले यो कुराको मनन राम्रोसँग गरेका छन्।

भारतको स्वतन्त्र विकास गर्नका लागि सबै सिमाना नियन्त्रित गर्नुपर्छ भन्ने उनको भनाइ छ। त्यो सिद्धान्त नेपालमा पनि लागू हुन्छ । तर, चाहे केपी शर्मा ओली प्रधानमन्त्री होऊन् या पुष्पकमल दाहाल या शेरबहादुर देउवा, कसैले पनि नेपालको सिमाना भारतसित नियन्त्रित गर्ने कोसिस गरेनन् ।

खुला रहेको सिमानाबाट केके आउँछन्, कोको आउँछन्, त्यहाँ केके हुन्छ र त्यहाँका जनताले केके बेहोर्नुपर्छ भनेर सयौँ पटक भनिसकेका र बुझिसकेका छन् । तैपनि केही नहुनु नेपालको दुर्भाग्य हो। ओलीले अर्को विषय पनि उठाएका छन्– ‘मुस्ताङमा भारतको सहयोगबाट विश्वविद्यालय खोल्ने ।’ यसबारेमा पनि उनले साह्रै कडा शब्दमा आलोचना गरेका छन्।

उनले भनेका छन, ‘मुस्ताङमा विश्वविद्यालय भनेको के हो ? मुस्ताङमा विश्वविद्यालय खोल्नु भनेको विदेशीको दलाली हो । राष्ट्रियतामाथि प्रहार हो । मित्र राष्ट्र चीनविरुद्ध गद्दारी हो । आफ्नै राष्ट्रको सार्वभौमसत्तालाई अस्वीकार गर्न खोजिएको हो । स्वाधीनतालाई अस्वीकार गरिएको हो । विश्वविद्यालयको नाउँमा अर्थोक नै गर्न खोेजेको हो ।’

यसबारेमा गोरखापत्रले ओलीको भनाइलाई भ्रमपूर्ण समाचार भनेर सरकारको प्रवक्ताको भनाइ छापेको छ। नेपाल सरकारका तर्फबाट यस विषयमा कुनै निर्णय नगरिएको कुरा भनिएको छ । सरकारले भने यसो भनेको छ, ‘यस सम्बन्धमा मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज सञ्चालनका लागि भवन बनाउन सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासमा सहयोग मागेको भन्ने समाचार सार्वजनिक भएकाले यस सम्बन्धमा के भएको हो, सोको अध्ययन र आवश्यक छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्ने बेहोरा जानकारी गराउन चाहन्छौँ ।’

ओलीको दाबीअनुसार ‘देशलाई विदेशीको खेल मैदान बनाउन खोजेको हो । त्यहाँको युरेनियममा ध्यान दिएको हो ।’ तर, प्रधानमन्त्री पुष्पकमल दाहालले यसैबारे बोलेका छन् । उनले भनेका छन्, ‘मुस्ताङको एउटा विद्यालयले बौद्ध दर्शनमा पठनपाठन गराउन अनुमतिका लागि निवेदन दिएको तर त्यसको पनि स्वीकृति हालसम्म सरकारी निकायले दिएको छैन । यहाँ धेरै हल्ला आएका छन् तर वर्तमान सरकार राष्ट्रिय आर्थिक समृद्धि खोज्ने विषयबाहेक कतै लागेको छैन ।’

ओलीले भनेका छन् कि मुस्ताङमा पाइएको युरेनियममाथि आँखा गाडेर भारतले सहयोग गर्न लागेको हो । यसै सिलसिलामा प्रधानमन्त्री पुष्पकमल दाहालले भने मुस्ताङ जस्तो महत्वपूर्ण प्राकृतिक सम्पदायुक्त क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको विकासमा जोड्ने योजनामा सरकार रहेको बताए । उनले भने, ‘अमूल्य खनिज उत्खनन गरेर सयौँ वर्षका लागि आर्थिक उत्थान हुनेगरी क्रान्तिकारी परिवर्तनको पक्षमा वर्तमान सरकार प्रतिबद्ध छ ।’

यसबाट यतिसम्म थाहा भयो कि मुस्ताङमा बुद्ध धर्मबारे उच्च अध्ययन गर्नका लागि अनुमति मागिएको रहेछ। विश्वविद्यालयको कुरा हल्ला मात्र हो भनेर सरकारले भनेको पनि थाहा भयो । मुख्य कुरा हो, मुस्ताङ तिब्बतको भौगोलिक सीमामा रहेको उच्च हिमाली भागमा भएको नेपालको जिल्ला हो । त्यस कारणले सरकारले त्यस जिल्लाको माथिल्लो भागलाई लामो समयदेखि निषेधित क्षेत्र मान्दै आएको थियो ।

पहिला तिब्बतको स्वतन्त्रताका लागि खम्पाहरूको विद्रोह हुँदा पनि सो जिल्लालाई उनीहरूले प्रयोग गरेका थिए र नेपाली सेनाले उनीहरूको गतिविधिलाई दमन गरी आत्मसमर्पण गराएको थियो। चीनको विरुद्ध कुनै गतिविधि गर्न त्यस ठाउँबाट सजिलो छ भनेर सबैलाई थाहा छ। त्यसैले पनि सो जिल्लाको उत्तरी भेगमा विदेशीहरूलाई सहजै जान प्रतिबन्ध लगाइएको थियो । त्यस ठाउँमा युरेनियम जस्तो खनिज पदार्थ पाइएको समाचार पनि आएको हो ।

युरेनियम भन्ने खनिज पदार्थ अणु बम बनाउन प्रयोग गरिने कुरा पनि धेरैलाई थाहा भइसकेको हो। यो मूल्यवान् खनिज पदार्थ मानिन्छ। हुनत यसको उपयोग राम्ररी गर्न सकियो भने नेपाल धनी हुने निश्चित छ। तर, नेपालको भ्रष्टाचारजन्य क्रियाकलापको पृष्ठभूमिमा अहिले नेपाल सहजै धनी हुने कुरा विचार गर्न सकिँदैन। हो, यसको राम्रो उपयोग गरेर यहाँका भ्रष्ट प्रशासकहरू भने धनी हुन सक्छन् ।

नेपालमा विभिन्न समयमा ऐतिहासिक रूपमा नै विदेशीहरूको सहायता नखोजिएको होइन। जयप्रताप मल्लले पृथ्वीनारायण शाहविरुद्ध अंग्रेजसित सहायता मागेका थिए। उही अंग्रेज शक्तिसित लड्न भीमसेन थापाले चीनसित सहायता मागेका थिए । देशमा ठुलो संकट आएका बेला विदेशीसित सहायता माग्नु मनासिव ठानिएको छ। तर, नेपालमा त्यस्तो ठुलो संकट आएको पनि देखिँदैन । भूकम्प आएका बेला धेरै देशहरूले नेपालको सहयोग पनि गरेको हो । तर, त्यसलाई स्वाभाविक प्रक्रिया मानिन्छ ।

तर, जुन किसिमले नेपालका शासकहरू विदेशीको हितमा सहयोगी भएका छन्, त्यसलाई स्वाभाविक मान्न सकिँदैन। ओलीले उठाएका कुराहरू केही अफवाह हुन सक्छन् तर जुन स्तरमा यो कुरा उठाइयो, त्यो गम्भीर भने छ।

चीनमा सांस्कृतिक क्रान्ति हुँदा पनि १ जना नेपालीको हत्या भएको थियो । अहिले मुस्ताङमा जे हुन लागेको छ, त्यो खालि हल्ला थियो भनेर मान्न सकिँदैन। चीनको सार्वभौमसत्ताको स्वार्थमा धक्का पुग्नेगरी नेपालमा केही गतिविधि हुन थाल्यो भने चीन चुप लागेर नबस्न पनि सक्छ । त्यसबेला नेपाल पनि युक्रेन जस्तो हालतमा नपुग्ला भन्न सकिँदैन ।

अहिलेका नेपालका नेताहरू कि त दक्षिण भारतको कि उत्तर चीनको हितमा अल्मलिएका छन्। पूर्वप्रधानमन्त्री ओली र वर्तमान प्रधानमन्त्रीका बीचमा नै राष्ट्रिय हितको कुरामा एकमत छैन र एकअर्कामा आरोप लगाउँछन् भने नेपालको राष्ट्रिय हितमा साझा धारणा कसरी बनाउने भन्ने प्रश्न उठेको छ। ओलीको आरोप सही नहोस् र दाहालको आश्वासन सही होस् । तर, ओेलीका बोलीहरू निकै नै सोचनीय छन्।

(‘आईएनएस–स्वतन्त्र समाचार’बाट)

प्रतिक्रिया दिनुहोस्