संसद् नै फरार अभियुक्त सांसदको बचाउमा !



  • विशाल बस्नेत

महोत्तरी । नेपाल सरकारबाट पक्राउ गरी कानुनी दायरामा ल्याउन सर्कुलर जारी भएका सांसद लक्ष्मी महतो कोइरी अझै ‘फरार’ छन्। जसका कारण निर्वाचित भएको ५ महिनासम्म पनि महोत्तरी-सांसदविहीन अवस्थामा छ। तर, यहीबीचमा एमाले नेतृ जुलीकुमारी महतोले दिएको पछिल्लो अभिव्यक्तिले पुनः राजनीतिक वृतमा चर्चा बटुलेको छ।

उनले फरार सांसद कोइरीको बचाउ गर्दै भनेकी छिन्, ‘हामी उनलाई कसरी सफाइ दिन सकिन्छ भन्ने विषयमा गृहकार्य गरिरहेका छौँ।’ २०७७ सालमा जनकपुर उच्च अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश सुनाएदेखि नै फरार रहेका कोइरी २०७९ सालको निर्वाचनमा महोत्तरी–१ बाट निर्वाचित भए।

सुरक्षाकर्मी थमन विकको हत्या गरेको आरोप लागेका सांसद कोइरी निर्वाचित भएपछि प्रहरीको आँखा छल्दै २ पटक संसद् भवन छिरेका थिए। यसैबीच, अघिल्लो गठबन्धन सरकारका गृहमन्त्री रवि लामिछानेलाई कोइरीलाई पक्राउ गर्न चर्को दबाब परेसँगै पक्राउका लागि ७७ वटै जिल्लामा सर्कुलर जारी भएको भयो।

गृह मन्त्रालयले सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई ध्यानाकर्षण गराउँदै ६ माघमा लिखित विज्ञप्तिसमेत निकालेको थियो। प्रहरीलाई पटक–पटक गृहमन्त्री लामिछानेले मौखिक निर्देशन दिँदा पनि अभियुक्त कोइरी पक्राउ नपरेपछि लिखित निर्देशन दिएको विज्ञप्तिमा उल्लेख थियो।

विज्ञप्तिपछि अज्ञात रहेका कोइरी कहाँ छन् भन्नेबारे सुरक्षा निकाय अझै जानकार छैन। नेकपा एमालेबाट निर्वाचित सांसद कोइरीलाई एमालेको योजनाअनुसार नै भगाइएको बताइँदै आएको छ । यसलाई एमाले नेताहरूको अभिव्यक्तिले समेत पुष्टि गर्दै गएका छन्।

यता, एमालेइतरका पार्टीहरूले भने सांसद कोइरीलाई गृह मन्त्रालयले नै संरक्षण दिइरहेको आरोप लगाउँदै आएका थिए। तर, तिनै आरोप लगाउनेहरू सत्ताको नजिक बनेका छन् भने सत्ता समीकरणसमेत परिवर्तन भएको छ।

देशैभर कोइरीलाई पक्राउ गर्ने विषयले प्राथमिकता पाइरहेका बेला मन्त्रीसमेत बनिसकेकी जुली महतोले फरार सांसद कोइरीको गाउँ निगौल पुगेर दिएको अभिव्यक्तिले राजनीति ठुलो कि कानुन भन्नेमा बहस सिर्जना गराइदिएको छ।

नेकपा एमालेका नेताहरूले सांसद कोइरीलाई निर्दोष घोषणा गर्न माग गरिरहेका छन्। फरार सांसद कोइरीलाई उन्मुक्ति दिन माग गर्दै नागरिक समाजका नाममा नेकपा एमालेले यसअघि ११ माघमा जनकपुर र बर्दिबासमा प्रदर्शनसमेत गरेको थियो।

त्यसैगरी, एमाले सचिव रघुवीर महासेठले फरार सांसद कोइरीलाई पक्राउ गर्ने सर्कुलरबारे संसद् बैठकमा नै विरोध गरेका थिए। अनुसन्धान प्रक्रियालाई समेत बन्धक बनाउने गरी एमालेका नेताहरू लागिपरेको भन्दै जन स्तरमा निकै आलोचना भएको छ।

फरार सूचीमा रहेका कोइरीको विषयमा पछिल्लो समय निकै चासो देखाइएको छ। नागरिक समाजको अगुवा बताउने हेमराज थापाले प्रचण्ड सरकारको आलोचना गर्दै भनेका छन्, ‘बालकोट दरबारको बगैँचामा खेलिरहेका एमाले सांसद लक्ष्मी महतो कोइरी कहिले समातिन्छन् ? कि कानुन रवि लामिछाने र अरुण चौधरीहरूलाई मात्रै हो ?’

फौजदारी अभियोगमा उस्तै प्रकारको मुद्दा खेपिरहेका टेकबहादुर गुरुङ र अरुण चौधरीको सांसद पद नै निलम्बन भइसकेको छ भने गृहमन्त्रीसमेत बनिसकेका रवि लामिछाने अदालतबाट सफाइ पाएपछि उपनिर्वाचन लड्ने तयारीमा छन्। यद्यपि, चौधरीको पनि निलम्बन फुकुवा भइसकेको छ।

सांसद कोइरी प्रचण्डलाई विश्वासको मत दिन र शपथ ग्रहणका लागि एमाले शीर्ष नेताहरूको ‘स्कर्टिङ’मा संसद् भवन छिरे पनि त्यसयता उनी ‘अज्ञात’ छन्। प्रहरी हेडक्वार्टरले समेत कोइरीलाई संसदीय गतिविधिमा संलग्न नगराउन संसद् सचिवालयलाई पत्र लेखेको थियो। तर त्यसको कार्यान्वयन भने भएको छैन।

निर्वाचन आयोगले समेत २५ फागुनमा राष्ट्रपति र ३ चैतमा भएको उपराष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा कोइरीको नाम समावेश गरेको थियो। मतदाता नम्बर १३०१९७२४ उल्लेख गरिएको कोइरीको परिचयपत्रसमेत निर्वाचन आयोगले आफ्नो वेबसाइटमा अद्यावधिक गरेपछि आयोगको समेत निकै आलोचना भयो। अहिले संसद् सचिवालयले कोइरीको परिचयपत्र पनि सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्