
काठमाडौं । सत्ता गठबन्धन दलमा मन्त्रीको विषयमा भागबण्डा नमिलेपछि बालुवाटार बैठक निष्कर्षविहीन सकिएको छ। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलको बैठक निष्कर्षविहीन सकिएको हो।
सत्तारुढ दलबीच मन्त्रालय भागबण्डामा सहमति हुन नसकेपछि भोलि बिहान ९ बजे बस्नेगरी बैठक सकिएको एक नेताले जानकारी दिए।
सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ हुँदै आएको छ। प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका लागि निरन्तर छलफल गर्दै आए पनि सहमति जुट्न सकेको छैन।
प्रचण्डले मंगलबार बिहान नेकपा एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेका थिए। छलफलमा समाजवादीले तीन वटा मन्त्रालय पाउनुपर्ने अडान राखेको थियो भने प्रचण्डले २ वटा भन्दा बढी दिन नसकिने बताएका थिए।
यता नेपाली कांग्रेसले आठ मन्त्रालय पाउने भनिएपनि मन्त्रालयमा सहमति जुट्न सकेको छैन। जसपासहित अन्य साना दलले पाउने मन्त्रालयमा पनि सहमति जुट्न बाँकी रहेको बुझिन्छ।