मन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौं ।  मन्त्रालय बाँडफाँट र सरकारका न्यूनतम साझा कार्यक्रमका विषयमा कुनै ठोस निष्कर्ष निकाल्न नसकेपछि गठबन्धन दलको बैठक आज बुधबार फेरि बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलको बैठकमा प्रधानमन्त्रीले सरकारका साझा कार्यक्रमको मस्यौदा पेस गरेका छन्।

मस्यौदामा सबै दलले अध्ययन गरेर सुझाव दिएपछि मात्र अन्तिम रूप दिने सहमति जुटेको नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय यादवले बताए। उनका अनुसार मंगलबारको बैठकमा पनि दलहरूले मन्त्रिपरिषद् भागबन्डामा आ–आफ्ना अडान राखेका छन्।

३ शक्तिशाली मन्त्रालयको दाबी गर्दै आएको नेकपा एकीकृत समाजवादीले प्रदेश मुख्यमन्त्रीसहित १ प्रदेश प्रमुखको समेत दाबी गर्दै केन्द्रदेखि प्रदेशसम्मको भागबन्डा प्याकेजमै टुंगो लगाउन सुझाएपछि मन्त्रालय भागबन्डाका विषयमा बैठकमा थप छलफल नभएको नेताहरूले बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विश्वासको मत लिएपछि सरकारमा सहभागी दलहरू फेरिने भएका कारण नयाँ साझा कार्यक्रमको मस्यौदा बैठकमा पेस गरे पनि दलहरूले आन्तरिक अध्ययनपछि मात्र अन्तिम रूप दिनुपर्ने सर्त राखेका थिए।

दलहरूले अध्ययन र आन्तरिक छलफलका लागि समय मागेपछि बुधबार बिहान ९ बजे पुनः बैठक बस्ने गरी स्थगन गरिएको यादवले बताए। बैठकमा सहभागी नभएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत सरकारमा सहभागी गराउनुपर्ने प्रस्ताव प्रधानमन्त्री दाहालले बैठकमा गरेपछि सो पार्टीसँग समेत सर्वदलीय र सर्वपक्षीय छलफल गरेर मात्र सत्ताको भागबन्डा टुंगो लगाउनेमा दलहरू सहमत छन्।

बैठकमा प्रधानमन्त्री प्रचण्डले लिखित रूपमा साझा कार्यक्रम र मौखिक रूपमा भागबन्डाको प्रस्ताव गरेका थिए। सहभागी एक नेताका अनुसार कांग्रेसलाई ८, माओवादीलाई ५, नेकपा एस र जसपालाई २ मन्त्रालय दिने प्रचण्डको मौखिक प्रस्ताव छ।

लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई १/१ मन्त्रालय प्रस्ताव गरेका उनले स्वतन्त्र सांसदको भागमा समेत १ मन्त्रालय राख्नुपर्ने प्रस्ताव गरे पनि दलहरूले यो प्रस्ताव अस्वीकार गरेको ती नेताको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्