एमाले मिसन ग्रासरुट : नेतृत्वमा अपेक्षा, कार्यकर्तामा असन्तुष्टि



काठमाडौं । ५ फागुनमा सुरु भएको नेकपा एमालेको ‘मिसन ग्रासरुढ’ अभियानमा स्थानीय नेता कार्यकर्ताले अपेक्षा गरेकोभन्दा फरक असन्तुष्टि तथा गुनासो गर्ने गरेका छन्।

मध्यावधि समीक्षा सम्पन्न गरेर दोस्रो चरणको अभियानमा लागेको एमालेका नेता कार्यकर्ताले नेतृत्वसँग दैनिक जीवनका समस्यादेखि राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकाबारे समेत असन्तुष्टि व्यक्त गरेका छन् ।

देशभरका अधिकांश स्थानीय नेता/कार्यकर्ताले अहिले पार्टी जसरी पनि सरकारमा जानका लागि गर्ने गठबन्धनको विषयमा असन्तुष्टि व्यक्त गरेका छन् । स्थानीय नेता/कार्यकर्ता स्थानीय रूपमा पार्टीप्रति प्रतिबद्ध छन्। तर, सरकारमा जान पार्टीले कहिले कोसँग कहिले कोसँग गर्ने गठबन्धन गलत भएको विषय जोडदार उठाउने एमाले रामेछाप नगरपालिका अध्यक्ष रोशन पाख्रिन बताउँछन् ।

फागुन र चैत २ महिना पार्टी सुदृढीकरण तथा विस्तार गर्न एमालेले सुरु गरेको अभियानको मध्यावधि समीक्षा गरिसकेका छन्। मध्यवधि समीक्षामा स्थानीय नेता/कार्यकर्ताले निर्वाचनको समयमा टिकट वितरणमा मनोमानी भएको भन्दै असन्तुष्टि पोखेका छन्।

पार्टीका उम्मेदवार हराउन सक्रिय भएका नेता/कार्यकर्तालाई पार्टीले कारबाही गर्न नसकेको पनि कार्यकर्ताले गुनासो गरेका छन्। साथै नेताहरूको कार्यशैलीको समेत स्थानीय नेता/कार्यकर्ताले असन्तुष्टि व्यक्त गर्ने गरेको पाख्रिन बताउँछन्। निर्वाचनको समीक्षामा स्थानीय नेता/कार्यकर्ताले उचित जिम्मेवारी नपाएको समेत गुनासो गर्ने गरेको नेताहरू बताउँछन्।

पछिल्लो समय पार्टीका नेताहरू स्थानीय जनताबाट धेरै टाढा भएको गुनासो छ । निर्वाचनको समयमा टिकट वितरणमा मनोमानी र अन्तरघात गाउँमाभन्दा शहरमा बढी छ । यो समस्या काठमाडौं, भक्तपुर, ललितपुरलगायत देशका प्रमुख शहरहरूमा बढी देखिएको एमालेका नेताहरू बताउँछन् ।

स्थानीय नेता/कार्यकर्तालाई आर्थिक उपार्जन तथा विकास निर्माणका कामको विषयमा समेत गुनासो, चासो र असन्तुष्टि राखेका छन्। कार्यकर्तालाई आर्थिक रूपमा सक्षम बनाउन समेत पार्टीले ध्यान दिनुपर्ने स्थानीय नेताहरूको सुझाव छ।

अभियानको उद्देश्य

विशेष गरी राजनीतिक पार्टीहरू महाधिवशेन वा निर्वाचनको समयमा मात्रै जनतामाझ जाने परिपाटीलाई एमालेले अन्त्य गरेको छ। निर्वाचन सकिएलगत्तै एमाले अभियान लिएर गाउँ जानुलाई अन्य पार्टीले समेत चासोका रूपमा हेरेका छन्।

पार्टीभित्र चाकडीवाद हाबी भएको र कामको जस सबै आफूले लिने प्रवृत्ति बढेपछि यो अभियान सुरु गरिएको नेताहरू बताउँछन्। यो अभियान मुख्य गरी वास्तविक र इमानदार नेता÷कार्यकर्ता पहिचान गर्न सुरु गरिएको नेताहरू बताउँछन्।

उसो त एमालेभित्रै कतिपय नेताले आफूले नेतृत्वमा बसेर काम देखाउन अनावश्यक कार्यक्रम ल्याएको बताउँछन्। नेताहरूले जसरी टिप्पणी गरे पनि यो अभियान राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।

एमालेले यसलाई संगठन सुदृढीकरण तथा विस्तार गर्ने उद्देश्य भनेको छ। यो कार्यक्रम नेता÷कार्यकर्तालाई स्क्यान गर्ने र पार्टीलाई नयाँ ढंगबाट सञ्चालन गर्न भएको पोलिटब्युरो सदस्य सुजिता शाक्य बताउँछिन्। उनले अहिलेसम्म ६० प्रतिशतभन्दा बढी स्थानमा कार्यक्रम सम्पन्न भएको बताइन् ।

नेता/कार्यकर्तासँग भेटघाट, छलफल र पार्टी निर्माणमात्र नभएर यो अभियान अहिले देखिएका राष्ट्रिय समस्यालाई हल गर्न पार्टीका तर्फबाट के गर्न सकिन्छ भन्ने विषयमा राय संकलन पनि भएको उनी बताउँछिन्। उनले अहिलेसम्म नेता÷कार्यकर्ताले सुझाव र गुनासो उस्तै रूपमा दिइरहेको बताइन् ।

यहीबीचमा जनसंगठनहरूको अधिवेशन गर्ने, वडा स्तरमा अधिवेशन गर्नेलगायत काम गरिएको र बाँकी गठन गर्नुपर्ने कमिटीहरूको तयारी रहेको उनी बताउँछिन्।

यो अभियानपछि आएका सल्लाह, सुझावलाई पार्टी केन्द्रमा कलेक्सन गरेर पार्टीको आगामी योजना बनाउने तयारी छ। पार्टीका १० लाख सदस्यलाई कुनै न कुनै रूपमा सक्रिय बनाउन भूमिका दिने गरी यो अभियान सुरु भएको केन्द्रीय सदस्य किशोरविक्रम मल्ल बताउँछन्। उनले

यो अभियानबाट नेता/कार्यकर्ता उत्साहित भएको बताए। यस्तो अभियान वार्षिक रूपमा सञ्चालन गर्न सुझाव दिएको उनी बताउँछन्। उनी अहिले केन्द्रीय प्रतिनिधिको रूपमा गोरखा जिल्लामा खटिएका छन्।

अवरोध र सरकारी गाडी दुरुपयोग

सुदूरपश्चिममा यो अभियानको विरुद्धमा नेता भीम रावलले समानान्तर अभियान चलाए । उनले पार्टीले आफूलाई भूमिकाविहीन बनाएको भन्दै अछाममा छुट्टै अभियान चलाए। पार्टी केन्द्रले तोकेका कमान्डरहरूसहित अर्को अभियान पनि सञ्चालन भयो ।

पार्टीको आधिकारिक अभियानका कमान्डरहरूले भीम रावलको आचोलना गरेपछि कार्यक्रम नै बिथोलियो। उपाध्यक्ष विष्णु पौडेल सहभागी उक्त कार्यक्रममा नेताहरूले रावलको आलोचना गरेपछि विवाद भएको थियो।

त्यस्तै, पार्टीको अभियानमा सरकारी सवारीसाधनको दुरुपयोग भएको भन्दै आलोचना भएको छ। एमालेबाट निर्वाचित धादिङका स्थानीय जनप्रतिनिधिहरूले पार्टीको काममा सरकारी सवारीसाधन दुरुपयोग गरेको विषय सञ्चारमाध्यममै आएको थियो । थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यका छोराले अध्यक्षले चड्ने गाडी पार्टीको कार्यक्रममा प्रयोग गरेका थिए ।

को–को छन् कमान्डर ? 

‘मिसन ग्रासरुट अभियान’को मुख्य नेतृत्व केन्द्रीय कार्यालयले गर्छ। त्यसको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओली आफैँले गरेका छन्। त्यसबाहेक एमालले प्रत्येक प्रदेश, जिल्ला, स्थानीय तहसमेतमा केन्द्रीय कमान्डर तोकेर पठाएको छ।

उपाध्यक्षहरूलाई प्रदेशको कमान्डर बनाइएको छ। केन्द्रीय सदस्य तहका नेताहरूलाई गाउँपालिका–नगरपालिकादेखि वडासम्मको नेतृत्व तोकिएको छ। उपमहासचिव र सचिवहरूसहित स्थायी कमिटी सदस्यलाई संयोजनको जिम्मेवारी दिइएको छ।

कोसी प्रदेशको अभिमुखीकरणका लागि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई कमान्डर तोकिएको छ। यो प्रदेशमा संयोजन सचिव तोपबहादुर रायमाझीले गर्नेछन् । त्यसमा स्थायी कमिटी सदस्यहरू शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मतकुमार कार्की छन् ।

मधेस प्रदेशको अभिमुखीकरणको कमान्डर उपाध्यक्ष ईश्वर पोखरलेलाई तोकिएको छ। यो प्रदेशको संयोजक रघुवीर महासेठ छन् भने स्थायी कमिटी सदस्यहरू गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल सदस्य छन्।

उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई बाग्मती प्रदेशको कमान्डर तोकिएको छ। सचिव गोर्कण विष्टले संयोजन गर्ने यो प्रदेशमा स्थायी कमिटी सदस्यहरू काशीनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ सदस्य छन् ।

गैरभौगोलिक क्षेत्र ‘विशेष प्रदेश’को संयोजन केन्द्रीय कार्यालयले गर्ने गरी तोकिएको छ। यो क्षेत्रमा महासचिव शंकर पोखरले कमान्ड गर्नेछन्। उपमहासचिवहरू पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, विष्णु रिमाल र कार्यालयका मुख्य सचिव डा. भीष्म अधिकारी सदस्य छन्।

गण्डकीको अभिमुखीकरणका लागि उपध्यक्ष युवराज ज्ञवाली कमान्डर तोकिएका छन्। सचिव पद्माकुमारी अर्यालले संयोजन गर्ने यो प्रदेशमा स्थायी कमिटी सदस्यहरू किरण गुरुङ, खगराज अधिकारी र थममाया थापा सदस्य छन्।

उपाध्यक्ष रामबहादुर थापा लुम्बिनी प्रदेशका लागि कमान्डर छन्। सचिव छविलाल विश्वकर्माले संयोजन गर्ने यो प्रदेशमा स्थायी कमिटी सदस्यहरू भीम आचार्य, भानुभक्त ढकाल र राजन भट्टराई सदस्य छन्।

अर्का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई कर्णाली प्रदेशको नेतृत्व तोकिएको छ। अभिमुखीकरणका लागि कर्णालीमा नेम्वाङ कमान्डर तोकिँदा संयोजनको जिम्मा सचिव योगेशकुमार भट्टराईले पाएका छन्। कर्णालीमा स्थायी कमिटी सदस्य यामलाल कँडेल, गोरखबहादुर बोगटी र शिवमाया तुम्बाहाङ्फे सदस्य छन्।

सुदूरपश्चिमको अभिमुखीकरणका लागि कमान्डर उपाध्यक्ष विष्णु पौडेल छन्। सचिव लेखराज भट्टले संयोजन गर्ने यो प्रदेशमा स्थायी कमिटी सदस्य मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापा सदस्य छन्।

प्रतिक्रिया दिनुहोस्