प्लास्टिक झोला, फोहोर, पर्यावरण र जनस्वास्थ्य



  • डा. केदार कार्की

काठमाडौं । काठमाडौंमा मात्र दैनिक ४ लाख ७० हजारभन्दा बढी प्लास्टिकका झोला प्रयोग हुन्छ। नेपालमा १६ प्रतिशत शहरी फोहोरमैला प्लास्टिकजन्य उत्पादनका हुन्छन्, जसबाट २ दशमलव ७ टन दैनिक प्लास्टिकजन्य फोहोरमैला निस्कन्छ।

यदि हामीले दैनिक हेर्‍यौँ भने अनुसनधानकर्ताको दाबीअनुसार जनसमुदायले आजसम्म १ दशमलव १ करोड टन प्लास्टिक उत्पादन गरेका छन्, जसमध्ये धेरैजसो प्रकृतिमा बिलीन भएर जान्छन् । यसले मानव समुदाय तथा पर्यावरणलाई हानि पुर्‍याउँछ।

देशका मुख्य महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका जस्ता मुख्य राजमार्गहरूमा खुलेका होटल, रेस्टुरेन्ट, रिसोर्टहरू प्लास्टिकजन्य फोहोरमैला उत्पादनका लागि मुख्य जिम्मेवार मानिन्छन्। एक अनुमानअनुसार उत्पादित प्लास्टिकजन्य फोहोरमैलामध्ये आधा मात्र उचित तरिकाले तह लगाइन्छ।

बाँकी हाम्रा महानगर, उपमहानगर, नगरका चोक, गल्ली र बाटामा छरपस्ट छरिएर रहेका देख्न सकिन्छ। नेपालले वर्षमा ५६ लाख टन प्लास्टिकको फोहोर उत्पादन गर्ने लाजमर्दो क्षमता राख्छ तर त्यसमध्ये लगभग आधा प्लास्टिकको फोहोर राम्रोसँग संकलन हुन पाउँदैन, जसको परीणाम स्वरूप हाम्रा नदीहरू, पर्यावरण तथा पारिस्थितिकीय तन्त्र दिनानुदिन गम्भीर रूपबाट बिषाक्त हुँदै गइरहेका छन्।

वास्तवमा प्लास्टिकको फोहोरले एक्लै नेपाल मात्र पीडित छैन बरु यो विश्वकै समस्या बनेको देखिन्छ। संयुक्त राष्ट्रसंघको तथ्यांकले यसको विभीषिका वर्णन गर्छन्। आज सम्पूर्ण विश्वमा प्रतिवर्ष १० खर्ब प्लास्टिकका झोला प्रत्येक मिनेट प्रयोग गरेर बाहिर फ्याँकिन्छ। प्रस्ट छ कि यसको अधिकांश हिस्सा प्रयोग नै गर्न सकिँदैन।

प्रश्न यो छ कि यो फोहोरको त्यो भाग, जुन संकलन हुँदैन, आखिरमा जान्छ कहाँ त ? वास्तवमा यो फोहोर हाम्रो धर्तीमा धस्सिइरहेको हुन्छ, जहाँ यो सयकडौँ वर्षसम्म नष्ट नभई बसिरहन्छ । यस धर्तीमा बाँचिरहेका अमूल्य एवं दुर्लभ पशुपक्षीहरू, मानिसहरू र बोट–बिरुवाका लागि हानिकारक हुन्छ ।

यसको धेरैजसो हिस्सा नदीनाला हुँदै हाम्रा महासागरमा जाने गर्छ। वास्तवमा यो सबै पछिल्लो केही दशकदेखि भइरहेको छ र यो सबै फोहोर माहासागरहरूको गायरमा गएर जम्मा भइरहेको छ। महासागरहरूको स्थिति पनि यस प्रदूषणले गर्दा धेरै विस्फोटक र विनाशकारी हुँदै गइरहेको छ।

सम्भवतः अधिकांश वैश्विक जगत् र आधुनिक मानव समाजलाई यो महसुस छैन कि यो सम्पूर्ण सभ्यता नै पर्यावरण प्रदूषण रूपी ज्वालामुखीको मुहानमा बसेको छ। गायर हावा र पानीबाट बनेको यस्तो प्राकृतिक भुमरी हो, जुन उत्तरी गोलाद्र्धमा घडीको सुइको दिशामा घुम्छ। र, दक्षिण गोलाद्र्धमा विपरीत दिशामा यी भुमरीहरूको गति आफैँ सुस्त हुन्छ।

यो त्यही ठाउँ हो, जहाँ हाम्रो सारा प्लास्टिक जम्मा भइरहेको छ। हाम्रा बैखिक महासागरहरूमा जम्मा ५ वटा गायरहरू छन् र यिनमा सबैभन्दा ठुलो गायर ग्रे पेसिफिक फोहोरमैला क्षेत्र हो ।

यस गायरको कुल क्षेत्रफल १४ लाख वर्गकिलोमिटर छ र यो सम्पूर्ण विश्वले फ्याँकेको प्लास्टिक फोहोरलाई एकीकरण गर्ने सबैभन्दा ठुलो केन्द्र मानिन्छ। आज हाम्रा माहासागरहरूमा कुल ५० लाख वर्गमाइलको सतहमा प्लास्टिककको फोहोर तैरिरहेको छ। यो एउटा विस्फोटको स्थिति हो, जुन निरन्तर बढ्दै छ।

प्लास्टिक फोहरको दुष्परिणाम

वास्तवमा प्लास्टिकजन्य फोहोर बडो जटिल हुन्छ र यो कहिल्यै पनि नष्ट हुँदैन । यो विनाश नहुने घातक फोहोरका कारण लगभग १ लाखभन्दा बढी दुर्लभ समुद्री जीव प्रतिवर्ष मारिन्छन्। ६० हजारभन्दा बढी प्लास्टिकका झोला हरसमय तैरिरहेका हुन्छन्, जुन प्लास्टिकको फोहोरलाई रिसाइक्लिङ गरिन्छ।

त्यसमा हजारौँ रूपैयाँ प्रतिटन खर्च लाग्छ । जुन त्यस्को वास्तविक मूल्यभन्दा धेरै बढी हुन जान्छ । यसैले जुन फोहोर रिसाइक्लिङ हुन्छ, पछि त्यसको कुनै ठुलो लाभ पर्यावरणलाई प्राप्त हुँदैन। यो गायरमा मात्र होइन बरु हाम्रो शरीरमा प्रवेश गरिसकेको छ। एउटा अध्ययनका अनुसार बिसफेनोल, जसबाट प्लास्टिक बन्छ, प्रत्येक केटाकेटी, युवा र वृद्धको शरीरमा पाइन्छ।

फलफूल तथा तरकारीहरू, केटाकेटीको दूध खाने बोतल, पिउने पानीको बोतल, कोल्ड ड्रिंक्सको बोतल तथा अन्य पदार्थहरू पूर्ण रूपमा प्लास्टिकमा निर्भर छन्। समयको साथसाथै यी प्लास्टिकबाट विषफिनोल रसाउन थाल्छ र यी पदार्थहरूमा मिसिएर हाम्रो शरीरमा पुग्छ।प्लास्टिकको हाम्रो शरीरमा हुने उपस्थिति धेरै पुस्तासम्म आफ्नो कुप्रभाव फैलाउन सक्षम हुन्छ। प्लास्टिकजन्य फोहोरमैला आज विश्वकै सामु परमाणु अस्त्रहरूको प्रयोगभन्दा धेरै ठुलो खतरा भएर आएको देखिन्छ।

यो एउटा बिकट समस्या हो। हामीमध्ये प्रत्येकले यो उत्तरदायित्व निभाउनुपर्नेछ कि जहाँसम्म संभव हुन्छ, प्लास्टिकको उपयोग नगरौँ। प्लास्टिकजन्य फोहोर फैलिन नदिऔँँ। पर्यावरणका लागि धेरै नोक्सान पुर्‍याउने प्लास्टिकका झोलाहरूमा प्रतिबन्ध लगाउनका लागि कानुन त पहिले पनि बनाइएको छ तर यसको उपयोग प्रभावकारी हुन सकेको छैन ।

प्रत्येक नागरिकलाई प्लास्टिकको दुरूपयोगबाट हुने खतराबारे सचेत गराउनुपर्ने हुन्छ र यो पनि आवश्यक छ कि प्लास्टिकको उत्पादनमा तत्काल प्रभाव हुनेगरी पूर्ण प्रतिबन्ध लगाइयोस्। बढ्दो जनसंख्या र नियोजित एवं अदूरदर्शी औद्योगिक विकासका कारण पूरा देशमै प्लास्टिकजन्य फोहोरहरूको थुप्रो बढ्दै छ । कहीँ कतै कुनै योजना छैन । नागरिकहरूमा न यस सन्दर्भमा आवश्यक जागरुकता छ, न त कुनै सजगता र सतर्कता।

शहरहरूबाट प्रतिदिन निस्कने हजारौँ टन फोहोर धर्तीका लागि खतरा बनिरहेको छ। सडक किनारमा सर्वत्र फ्याँकिएको छरपस्ट फोहोरले पर्यावरणलाई नोक्सान पुर्‍याइरहेको छ। यसबाट निस्कने धुवाँ पर्यावरणलाई मात्र नभई जनसमुदायका लागि पनि खतरा बन्दै छ।

प्लास्टिकजन्य फोहोर बाल्दा निस्किने बिषालु ग्यास धेरै प्रकारका रोगहरूको कारण मात्र बन्दैन, पर्यावरणलाई पनि ठुलो नोक्सान पुर्‍याउँछ। यो धुवाँ ती मानिसहरूका लागि विशेष रूपले खतरनाक हुन्छ, जो स्वासप्रस्वाससम्बन्धी रोगबाट पीडित छन् ।

सबैभन्दा खतरनाक स्थिति यो छ कि जमिनमा रहेको प्लास्टिकजन्य फोहोर बर्षात्को पानीमा मिसिएर भू–जलसम्म ती खतरनाक रसायनहरू पुर्‍याउँदै छ, जुन मानव जातिका लागि विनाशकारी हुन सक्छन्। नेपालमा आज यस्तो प्रतीत भइरहेको छ, मानौँ, आकाशदेखि लिएर पातालसम्म सर्वत्र फोहोरमैलाको एकछत्र राज्य छ।

प्रदूषणको यस आतंकबाट मुक्तिको कहीँ कतै कुनै बाटो देखिइरहेको छैन। वाास्तवमा जुन बाटो बाँकी छ, त्यसमा अनुशासनपूर्वक हिँड्नका लागि समझ र सामथ्र्य देशमा अझै देखिएको छैन।

अझै पनि यस समस्याबारे राज्यको नीति निर्माण कार्यान्वयन तहका साथै सबै सरोकारवालाले नसोच्ने हो भने यसको दुष्परिणाम आजको पुस्ताले मात्र होइन, भावी पुस्ताले पनि भोग्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्