
काठमाडौं । प्रधानमन्त्री कप थ्री नेसन्स कपको उपाधिका लागि शुक्रबार नेपाल र लाओस भिड्दै छन्। दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ।
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले फाइनल खेलका लागि नेपाली टोली मानसिक र शारीरिक रूपमा तयार रहको बताएका छन्। दशरथ रंगशालमा शुक्रबार हुने प्रतियोगिताको फाइनलअघिको पत्रकार सम्मेलनमा नेपाली कप्तान लिम्बूले उपाधि जिते टोलीमा समावेश नयाँ खेलाडीका लागि अनुभव र मनोबल बटुल्ने अवसर हुनेसमेत बताए।
उनले टोलीमा नयाँ खेलाडीको बाहुल्य भएको र उनीहरूको मनोबल उच्च बनाउनका लागि पनि यो प्रतियोगिताको उपाधि निकै महत्वपूर्ण रहेको बताए। नेपाली फुटबल कठिन समयबाट गुज्रिरहेको अवस्थामा समर्थकलाई खुसी दिलाउन यो प्रतियोगिता निकै महत्वपूर्ण रहेको समेत उनले बताए।
नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो एनासीले नेपाली टोलीमा अहिले अधिकांश नयाँ खेलाडी भएको र राम्रो छवि बनाउन जित आवश्यक भएको बताए । टोली मानसिक र शारीरिक हिसाबमा खेल्न तयार रहेकाले शुक्रबार नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने बताए।
टोलीमा धेरैजसो नयाँ खेलाडी भएकाले सबै खेलाडीका लागि फाइनल खेल राम्रो अवसर भएको बताउँदै प्रशिक्षक एनासीले भुटानविरुद्धको खेलमा चोट लागेका अञ्जन बिष्ट फाइनलमा उपलब्ध हुने जानकारीसमेत दिए।
भुटान अन्तिम मिनेटमा बराबरीमा रोकिएपछि फाइनलमा पुगेको लाओसका प्रशिक्षक हान्स मिकेल विसले पहिलो खेलमा नेपालविरुद्ध संघर्ष गरे पनि फाइनलमा राम्रो गर्नेमा विश्वस्त रहेको बताए। घरेलु टोलीविरुद्ध हुने खेल निकै प्रतिस्पर्धात्मक हुने विश्वास राख्दै अहिलेको टोलीमा धेरैजसो खेलाडी यू– १९ उमेर समूहको भएका र उनीहरूले राम्रो खेल्दै घर फर्किने बताए।
खेल लाओस फुटबलका लागि धेरै अवसर हुने भन्दै टोली कुनै पनि हालतमा जित्नकै लागि खेल्ने पनि विसले बताए । लाओसका कप्तान साउकाफोन भोनचेनखामले फाइनल प्रतिस्पर्धाका लागि टोली उत्साहित भएको बताए।
पहिलो खेलमा आफ्नो टोली मौसमका कारण अपेक्षाअनुसार खेल्न नसकेको र केही दिनको बसाइपछि टोली अभ्यस्त भएको भन्दै फाइनल उपाधिका लागि खेल्ने बताए। दुवै टोली उपाधिका लागि प्रतिस्पर्धा गर्दा खेल रोमाञ्चक हुने उनले बताए।
प्रतियोगितामा भुटान, लाओस र नेपालले प्रतिस्पर्धा गरेका हुन्। एन्फाले फिफा विन्डोको अवसरमा आयोजना गरेको प्रतियोगितामा नेपालले पहिलो खेलमा लाओसलाई २–० ले पराजित गर्दा दोस्रो खेलमा भुटानविरुद्ध १/१ गोलको बराबरी खेलेको थियो। लाओसले भुटानविरुद्ध २–१ को नतिजा निकालेको थियो।