वीरगञ्ज ड्राइपोर्टमा महानगरको डोजर, ४ वटा पक्की भवनसहित १७ घर टहरा भत्काइयो



वीरगञ्ज । सार्वजनिक जग्गा अतिक्रमण गरेर विभिन्न व्यक्तिले निर्माण गरेका संरचना बिहीबार वीरगञ्ज महानगरपालिकाले हटाएको छ। महानगरको वडा नम्बर २५ ड्राइपोर्ट चोक नजिकै करिब १७ कट्ठा जग्गा अतिक्रमण गरी निर्माण गरिएका पक्की तथा कच्ची भवनहरू महानगरले डोजर लगाएर हटाइएको हो।

महानगर प्रमुख राजेशमान सिंहको निर्देशनअनुसार गएको टोलीले अतिक्रमित जग्गामा बनेको ४ वटा पक्की भवन र १७ वटा घर टहरा डोजर लगाएर हटाएको महानगरका प्रशासन प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए।

केही व्यक्तिले वर्षौँदेखि जग्गा अतिक्रमण गरेर व्यक्तिगत रुपमा प्रयोग गरिरहेको जानकारी पाए लगत्तै नक्सा सहित पुगेको महानगरको टोलीले नापजाँच गरेर सार्वजनिक जग्गा अतिक्रमित गरेर बनेका संरचना हटाएको हो।

अतिक्रमण हटाउने क्रममा अतिक्रमणकारीहरुले अवरोध गर्न खोजे पछि जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा प्रहरी पुगेपछि अतिक्रमण सहज रुपमा हटाइएको थियो। महानगरपालिकाले ३२ वटै वडामा अतिक्रमणमा परेका सार्वजनिक तथा ऐलानी जग्गा खोजी गर्न भौतिक पूर्वाधार अतिक्रमण खाली गर्ने समिति नै बनाएर काम अघि बढाएको छ।

अहिले सार्वजनिक तथा ऐलानी जग्गा खोजी अभियान चलाइएको बताउँदै महानगर प्रमुख सिंहले कहीँकतै अतिक्रमण भएको सूचना भए आफूलाई जानकारी दिन आग्रह गरेका छन्। आफूहरू सार्वजनिक जग्गा संरक्षणमा कटिबद्ध भएर लागेको भन्दै यसमा सबैको सहयोगको पनि उनले आवश्यकता औँल्याएका छन्।

महानगरले गएको फागुनमा मात्रै वडा नम्बर १९ मा करिब १६ बिघा र वडा नम्बर २४ सिर्सिया पुल नजिक २ कट्ठा १० धुर जग्गा अतिक्रमण मुक्त गराइसकेको छ । चिल्ड्रेन पार्कको अतिक्रमण हटाउने काम चलिरहेको र अन्य वडाहरूमा पनि सार्वजनिक तथा ऐलानी जग्गा खोजी कार्य जारी छ।

हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखीकरण गरेर राख्न र आवश्यकता अनुसार प्रयोग गर्न महानगरले यस्तो खोजी अभियान अघि बढाएको महानगर प्रमुख सिंहले बताए।

महानगर प्रमुखको निर्देशनमा अतिक्रमण मुक्त गराउन भौतिक पूर्वाधार अतिक्रमण खाली गर्ने समितिका संयोजक प्रदीप चौरसिया, प्रशासन प्रमुख राजकृष्ण ताम्राकार, नगर प्रहरी प्रमुख हरि भुषाल, प्रमुखको सचिवालयका हरि पोखरेल, प्रेस सल्लाहकार महेश दास लगायत नगरप्रहरी सहितको टोली पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्