वाणिज्य बैंकहरूको खुद नाफा ४४ प्रतिशत बढ्यो



चालू आवको पहिलो त्रैमासमा नेप्सेमा सूचीकृत २७ वाणिज्य बैंकहरूको खुद नाफा ४३ दशमलव ९० प्रतिशत बढेको छ । गत आवको असोज मसान्तसम्ममा ९ अर्ब ९२ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका यी वाणिज्य बैंकहरू चालू आवको सोही अवधिमा १४ अर्ब २८ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् । बैंकहरूको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि नाफा बढ्न पुगेको हो ।

 

पहिलो त्रैमासमा नै दुई वाणिज्य बैंक १ अर्बभन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएका छन् । रकमका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा सो अवधिमा सबैभन्दा धेरै रहेको छ । इन्भेष्टमेन्ट बैंकले सो अवधिमा १ अर्ब ५ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, नबिल बैंकले असोज मसान्तसम्ममा १ अर्ब ५ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

 

अघिल्लो आवको तुलनामा इन्भेष्टमेन्टको नाफा १७ दशमलव ८४ प्रतिशत बढी हो भने नबिलको २३ दशमलव ६२ प्रतिशत बढी हो । सिभिल बैंकको नाफा भने सबैभन्दा कम रहेको छ । वित्तीय विवरणअनुसार सिभिलले पहिलो तीन महिनामा १८ करोड ५० लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । यद्यपि, यो गत आवको सोही अवधिको तुलनामा ६३ दशमलव ९९ प्रतिशत बढी हो ।

 

नाफा वृद्धिदरका हिसाबमा भने मेगा बैंक नेपाल सबैभन्दा अगाडि रहेको छ । समीक्षा अवधिमा बैंकको नाफा ३ सय ९४ दशमलव ४९ प्रतिशत बढेको छ । पहिलो तीन महिनामा मेगाले ४० लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नेपाल बैंकको खुद नाफा भने गत आवको तुलनामा ५ दशमलव ९१ प्रतिशत घटेको छ । यद्यपि, बैंकले सो अवधिमा ९१ करोड ३८ लाख खुद नाफा आर्जन गरेको छ ।

 

४४ प्रतिशतको हाराहारीमा खुद नाफा बढेका यी बैंकहरूको फ्री प्रोफिट भने ३२ दशमलव ४३ प्रतिशत मात्र बढेको छ । नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुरूप रेगुलेटरी एड्जस्टमेन्टपश्चात् कायम हुने नाफालाई फ्री प्रोफिट भनिन्छ । यसलाई बैंकहरूले लाभांश वितरण गर्न प्रयोग गर्न सक्छन् ।

 

२७ वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै फ्री प्रोफिट नेपाल इन्भेष्टमेन्ट बैंकको नै रहेको छ । सो बैंकले १ अर्ब ५ करोड रुपैयाँ नै लाभांश वितरणमा प्रयोग गर्न सक्नेछ । सबैभन्दा कम खुद नाफा आर्जन गरेको सिभिल बैंकको फ्री प्रोफिट पनि अन्यको तुलनामा कम नै रहेको छ । सो अवधिमा सिभिलको फ्री प्रोफिट १२ करोड १२ लाख मात्र रहेको छ ।

 

जनता बैंकको फ्री प्रोफिट भने अघिल्लो आवको असोज मसान्तको तुलनामा २ सय ९४ दशमलव ९५ प्रतिशत बढेको छ । बैंकको रेगुलेटरी एड्जस्टमेन्टपश्चात्को नाफा २५ करोड ५९ लाख रुपैयाँ रहेको छ । नेपाल एसबिआई बैंकको फ्री प्रोफिट भने गत आवको तुलनामा १३ दशमलव ९७ प्रतिशत घटेको छ । सो अवधिमा बैंकको फ्री प्रोफिट २७ करोड ९७ लाख रुपैयाँ रहेको छ । एभरेष्ट बैंकको फ्री प्रोफिट अघिल्लो आवको पहिलो त्रैमासको तुलनामा ७ दशमलव ७७ प्रतिशत घटेको छ ।

प्रतिक्रिया दिनुहोस्