तनहुँ १ मा रास्वपाबाट स्वर्णिम वाग्ले चुनाव लड्ने पक्का



काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० गते उपचुनावमा तनहुँ १ मा स्वर्णिम वाग्लेलाई टिकट दिएको छ । नेपाली कांग्रेस परित्याग गरेका वाग्लेलाई स्वतन्त्र पार्टीले टिकट दिएको हो । उम्मेदवारको प्रारम्भिक सूचीमा तनहुँ १ मा स्वर्णिमसहित ३ जनाको नाम थियो ।

शुक्रबार भएको छलफलबाट डा. वाग्लेलाई उम्मेदवार बनाउने सहमति भएको हो । तनहुँ १ राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र हो । उनी २५ हजार ३१३ मत ल्याएर विजयी भएका थिए । प्रमुख प्रतिस्पर्धी एमालेका एकबहादुर रानामगरले १९९२५ भोट ल्याएका थिए ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले विकास सिग्देललाई उम्मेदवार बनाएको थियो । उनले ६ हजार ३२ भोट ल्याएर चौंथो भएका थिए । तनहुँ १ मा रास्वपाको समानुपतिक मत राम्रो छ । त्यो मतमा डा. स्वर्णिम वाग्लेको व्यक्तिगत प्रभाव र लोकप्रियताको मत थपिने हुँदा रास्वपाले जितको दावी गरेको हो । यस क्षेत्रमा गठवन्धनका तर्फबाट कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्