आईपीएल : गुजरातको विजयी सुरुआत



काठमाडौं । साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमयर लिग (आईपीएल) को १६औं संस्करणको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ।

पहिलो खेल नै जित्दै उपाधि रक्षामा सुखद सुरुआत गरेको गुजरातले चेन्नाईविरुद्ध अपराजित यात्रासमेत कायम राखेको छ। गत सिजन आईपीएलमा डेब्यु गरेको गुजरातले यसअघि दुवै खेलमा चेन्नाईलाई पराजित गरेको थियो।

शुक्रबार घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा चेन्नाईले दिएको १७८ रनको लक्ष्य गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

गुजरातका लागि ओपनर शुभमन गिलले ३६ बलमा ६ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६३ रन बनाए। विजय शंकरले २१ बलमा २७, ऋद्धिमान शाहले १६ बलमा २५ तथा साई सुदर्शनले १७ बलमा २२ रन बनाए। केन विलियम्सन फिल्डिङका क्रममा घाइते भएपछि साई सुदर्शन इम्प्याक्ट प्लेयरको रुपमा मैदान प्रवेश गरेका थिए। गुजरातलाई जित दिलाउने काम अन्तिममा राहुल तेवाटिया र रासिद खानले पूरा गरे।

तेवाटियाले १४ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा अविजित १५ रन बनाए। यस्तै रासिदले ३ बलमा १ चौका र १ छक्का प्रहार गर्दै अविजित १० रन जोडे। चेन्नाईका लागि यसै खेलबाट आईपीएल डेब्यु गरेका राजवर्धन हंगारगेकरले ३ तथा तुसार देशपाण्डे र रविन्द्र जडेजाले समान एक/एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो।

चेन्नाईका लागि ओपनर रुतुराज गायकवाडले ५० बलमा ४ चौका र ९ छक्काको सहयोगमा ९२ रन बनाए। मोईन अलिले २३ र शिबम दुवेले १९ रन बनाए । कप्तान महेन्द्रसिंह धोनीले ७ बलमा १ चौका र १ छक्का मद्तमा अविजित १४ रन जोडे। गुजरातका मोहम्मद सामी, रासिद खान र अल्जारी जोसेफले २/२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्