खशोग्जी हत्याबारे मङ्गलवार थप रहस्य खुल्ने



अमेरिका : टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा भएको खशोग्जीको हत्यासँग सम्बन्धित थुप्रै प्रश्नहरू अनुत्तरित नै रहेको अमेरिकाले जनाएको छ । यसअघि अमेरिकी गुप्तचर निकाय सीआर्इएले साउदी युवराज मोहम्मद बिन सलमानले नै साउदी पत्रकार खशोग्जीको हत्या गर्न निर्देशन दिएको बताएको थियो ।

साउदी अरेबियाले भने त्यस्तो दाबीलाई गलत भनेको छ र युवराजलाई उक्त हत्याको योजनाबारे केही थाहा नभएको दोहोर्‍याउँदै आएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार साउदी युवराजको अनुमोदन विना खशोग्जीको हत्या भएको भन्ने कुरामा अमेरिकाले विश्वास गर्न सक्दैन ।

अमेरिकाले साउदी अरेबियासँगको रणनीतिक सम्बन्ध कायम राख्दै सो विषयमा थप छानबिन गर्ने बताएको छ । आउँदो मङ्गलवार प्राप्त हुने प्रतिवेदनको प्रतीक्षामा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो प्रतिवेदनपछि अमेरिकी अधिकारीहरूलाई पत्रकार खशोग्जीको हत्याका वास्तविक जिम्मेवार पत्ता लाग्ने बताएका छन् ।

साउदी सरकारको प्रखर आलोचक खशोग्जी आफ्नो विवाहका लागि कागजातहरू लिन गएका बेला इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा प्रवेश गरेदेखि बेपत्ता भएका थिए । खशोग्जीको हत्यामा ११ जनामाथि अभियोग लगाइएको छ र तीमध्ये पाँचजनालाई मृत्युदण्डको सजाय हुनुपर्ने अभियोजनकर्ताले माग गरेका छन् ।

को थिए खशोग्जी ?

उनी एक चर्चित पत्रकार थिए, जसले अफगानिस्तानमा सोभियत संघको अतिक्रमणदेखि ओसामा बिन लादेनको उदयसम्मका विषयमा कैयौँ साउदी समाचार संस्थाका लागि समाचार लेखे । दशकौँसम्म उनी साउदी राजपरिवारको निकट रहे र सरकारको सल्लाहकारका रूपमा पनि उनले काम गरे ।  

तर पछि उनले राजपरिवारको विश्वास गुमाए र गत वर्ष उनी अमेरिकामा निर्वासनमा गए । त्यहाँबाट उनले अमेरिकी पत्रिका द वाशिङ्टन पोस्टका लागि मासिक स्तम्भ लेख्न थाले, जसमा उनले साउदी युवराज मोहम्मद बिन सलमानका नीतिहरूको आलोचना गरे ।

आफ्नो पहिलो स्तम्भमा खशोग्जीले विरोधी स्वरमाथि दमन गर्न लागेका राजकुमार मोहम्मदले गिरफ्तार गराउन सक्ने आशङ्का व्यक्त गरेका थिए । स्रोत बिबिसी

प्रतिक्रिया दिनुहोस्