यस्तो छ नयाँ पर्यटकीय गन्तव्य पञ्चकोशी ज्वाला क्षेत्र



दैलेख: सरकारले हालै नयाँ पर्यटकीय गन्तव्यका रुपमा सय स्थानको सूची सार्वजनिक गरेको छ । जसमा  दैलेखका पाँचवटा स्थान परेका छन् । पञ्चकोशी ज्वाला क्षेत्र, कोतगढी, पञ्चदेवल, बेलासपुर र महाबु रहेको छ  ।

हालसम्म गुमनाम ज्वाला क्षेत्रमा सरकारको दृष्ट्री परेको भन्दै स्थानीयबासी खुसी भएका छन् । नेपालगंजबाट ७ घण्टाको यात्रापछि पुग्न सकिने भएकाले पञ्चकोशी ज्वाला क्षेत्रमा भारतीय धार्मिक पर्यटकलाई समेत आकर्षित गर्न सकिने सम्भावना छ । पञ्चकोशिको सवै भन्दा अग्लो स्थानमा मालिका थान रहेको छ ।

सत्ययूगमा महादेवले सतिदेवीको मृत शरिरलाई काँधमा राखेर त्रिलोक घुम्ने क्रममा सतिदेवीको पाँच अंग पतन भएको स्थान पञ्चकोशी ज्वाला क्षेत्र रहेको वैष्णवपुराण,ज्वाला पुराण र  स्वस्थानि व्रतकथामा उल्लेख छ ।

ज्वाला क्षेत्र अन्तरगत १०८ शक्तिपिठ पर्दछन । भैरवी, मालिका, स्वामी कार्तिक्य, बिन्ध्यावासीनी, लामाद्धाला आदि चर्चित छन् ।  पञ्चकोशी ज्वाला क्षेत्र हिन्दु धर्मावलम्वीको लागि मात्र नभएर बौद्ध धर्मावलम्वीको लागि पनि उत्तिकै महत्वपूर्ण मनिन्छ । 

पञ्चकोशी ज्वाला क्षेत्रमा जल्ने गरेको अनवरत ज्वालाले पनि पर्यटकलाई आकर्षित गरेको छ । यसअघि चिनियाँ विज्ञ टोलिले गरेको अन्वेषणमा उच्च स्तरको पेट्रोलियम पदार्थ तथा सिधै प्रयोगमा ल्याउन सकिने ग्यासको खानी रहेको पुष्टी गरेको थियो । धार्मिक आस्था र प्रचुर पर्यटकीय सम्भावना बोकेको पञ्चकोशी ज्वाला क्षेत्रमा पूवाधार भने शून्य प्राय छ ।

प्रतिक्रिया दिनुहोस्