सुदूरपश्चिमका सरकारी डाक्टरलाई निजीमा रोक



कैलाली : सुदूरपश्चिमको प्रादेशिक सरकारले सरकारी स्वास्थ्यकर्मीलाई निजी अस्पताल र क्लिनिकमा काम गर्न प्रतिबन्ध लगाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेश मातहतका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलाई निर्णय कार्यान्वयन गर्न परिपत्र गरेको छ ।

निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले सरकारी डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई कार्यालय समयमा निजी अस्पताल र क्लिनिकमा काम नगर्न निर्देशन दिइएको बताए। उनले स्वास्थ्यकर्मीहरू कार्यालय समयमा निजी क्लिनिकमा जाने गुनासो बढेपछि यस्तो निर्देशन दिइएको स्पष्ट पारे ।

कार्यालय समयमा निजी अस्पताल र क्लिनिकमा काम गरेको पाइए कारबाही हुने निर्देशनालयको पत्रमा उल्लेख छ । निर्देशनालयले प्रदेशको उपक्षेत्रीय अस्पताल डडेल्धुरा, सेती अञ्चल अस्पताल धनगढी, महाकाली अञ्चल अस्पताल महेन्द्रनगर, प्रदेशभित्रका सम्पूर्ण जिल्ला अस्पताल, टीकापुर, जोगबुढा, गोकुलेश्वर, मालाखेती अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलाई परिपत्र गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्