धनुषामा धनुष आकारकै अन्तर्राष्ट्रिय रंगशाला बन्ने



जनकपुर: धनुषामा रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको भौतिक संरचना निर्माण कार्य यही आर्थिक वर्षमा सुरु हुने भएको छ । जनकपुर -१४ राजोलमा रंगशाला निर्माणस्थल निरिक्षणमा गएका युवा तथा खेलकुद मन्त्री जगत विकले चालु आर्थिक वर्षमै निर्माण कार्य सुरु गर्ने बताएका हुन् ।

सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण कार्यलाई प्राथमिकता दिएको मन्त्री विश्वकर्माले बताए । रंगशाला निर्माण स्थलको सिमांकन तथा संरक्षणका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जिल्ला खेलकुद विकास समिति मार्फत पाँच लाख रुपैयाँ पठाएको छ ।

जग्गाको नाप, नक्शा तथा तारवारको काम भैरहेको रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण समितिका सचिव बिकाउ राउतले जानकारी दिए । रंगशाला तारवार तथा गेट निर्माणका लागि मन्त्रालयले २० लाख रुपैयाँ विनियोजन गरेको मन्त्री विश्वकर्माले जानकारी दिए ।

रंगशाला निर्माणका लागि खेलकुद परिषद्ले दुई वर्ष अघि गुठी संस्थानसँग वार्षिक नौ लाख रुपैयाँ भाडा तिर्ने शर्तमा १७ विघा ८ कट्ठा १८ धुर जग्गा लिजमा लिइसकेको छ । उक्त जग्गाको भाडा वापत राखेपले एक वर्षको लागि ९ लाख रुपैयाँ गुठी संस्थानलाई भुक्तान गरिसकेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमलकिशोर चौधरीले जानकारी दिए । धनुष आकारमा निर्माण गर्न लागिएको रंगशालामा क्रिकेट, फुटबल, हक्की तथा भलिबल, कराते, टेवुलटेनिक, कबडीलगायत खेल मैदान तयार गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्