एमाले मधेस मिसन : विवादित जिल्लामा नजर



  • विशाल बस्नेत

महोत्तरी । मधेसमा नेकपा एमाले जिल्ला अधिवेशनको गृहकार्यमा जुटेको छ। आन्तरिक विवादका कारण दर्जनौँ पटक स्थगित हुँदै आएको महोत्तरी, रौतहट र पर्साको अधिवेशनलाई लिएर शीर्ष नेताहरूसमेत जिल्ला दौडाहामा छन्।

रौतहट र पर्साको अधिवेशनको खुला सत्र सकिइसकेको छ भने बन्द सत्रबाट पदाधिकारी वैशाखभित्र निर्वाचित गरिसक्ने एमाले मधेस प्रदेशले जनाएको छ। देशैभर जिल्ला अधिवेशन सकिए पनि ३ जिल्लामा हुन सकेको थिएन । यी जिल्लामध्ये महोत्तरीको अधिवेशनमा सुरुदेखि नै रस्साकस्सी छ।

पोलिटब्युरो सदस्य रामदयाल मण्डल, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज टेकबहादुर बलम्पाकी, केन्द्रीय सदस्यहरू बुधिनीदेवी र सरोज यादवकै कारण अवरुद्ध बनेको अधिवेशन वैशाखभित्र जसरी पनि सम्पन्न गराउने नेताहरूले बताउँदै आएका छन् । यसअघि जिल्लामा आफ्नो पक्ष शक्तिशाली बनाउने होडबाजीले केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकी र सरोज यादव एउटा कित्तामा उभिएका थिए भने रामदयाल मण्डल र बुधिनीदेवी अर्को कित्तामा थिए।

तत्कालीन पार्टी इन्चार्ज तथा १०औँ केन्द्रीय महाअधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका बलम्पाकीले भने पार्टी छाडिसकेका छन्। नेताहरूको चरित्र उस्तै देखिए पनि जसरी पनि सहमति गर्नैपर्ने अवस्थाले जिल्लामा रहेका केन्द्रीय सदस्यहरूलाई अधिवेशन गराउनैपर्ने चुनौती पनि थपिएको छ। ‘नेताहरूको स्वार्थ हावी हुँदा जिल्लामा समस्या बनिरहेको छ,’ नेकपा एमालेका एक नेताले भने, ‘तर यस पटक हामी नेताहरूलाइै नैतिक रूपमा घुँडा टेकाएरै छाड्छौँ ।’

यसअघि आधिकारिक रूपमा नै जिल्ला आयोजक कमिटी गठन गरेको भन्दै पोलिटब्युरो सदस्य रामदयाल मण्डलले शपथ ग्रहण नै गराएका थिए। नेकपा एमालेको विधि र विधानमा रहेर शपथ खुवाएको बताउँदै नेता मण्डलले आधिकारिक जिल्ला कमिटी भएको जिकिर गरेका थिए। तर, सरोज यादवसहित टेकबहादुर बलम्पाकी पक्ष असन्तुष्ट बनेपछि केन्द्रले नेता मण्डलले शपथ खुवाएको कमिटीलाई वैधता दिन अस्वीकार गर्‍यो ।

अधिवेशनको विषयलाई लिएर एमालेभित्र लामो रस्साकस्सी चल्दै आएको छ। पटकपटक अधिवेशनको मिति निर्धारण गर्ने र विवादका कारण अधिवेशन गराउन नसकिरहेको बेला वैशाखभित्र हुने भनिएको यो अधिवेशनलाई निकै महत्वपूर्ण ढंगले हेरिएको छ। यही विषयलाई लिएर जिल्ला राजनीतिक वृत्तमा चर्चा चुलिएको छ। महोत्तरीमा अधिवेशन गराउन नसक्नुको मुख्य कारक तत्कालीन जिल्ला इन्चार्ज टेकबहादुर बलम्पाकी रहेको भन्दै केन्द्रले इन्चार्जको जिम्मेवारी सरोज यादवलाई दिएको थियो।

अहिले पनि नेता यादव इन्चार्जकै भूमिकामा छन् भने कारिचन्द्र साहलाई अस्थायी जिल्ला संयोजक बनाइएको छ। उनकै नेतृत्वमा यसअघि नै ५५ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति समेत गठन भइसकेको छ। लामो समयदेखि जिल्ला आयोजक कमिटी बनाउन नै संघर्ष गर्दै आएको नेकपा एमालेले जिल्ला अधिवेशन आयोजक कमिटी टुंग्याए पनि निर्धारित मितिमा नै अधिवेशन सम्पन्न हुनेमा कतिपय नेताहरू अझै शंका व्यक्त गर्छन् ।

जिल्लाको नेतृत्व लिन नेताहरूको निकै दौडधुपसमेत चलेको छ । जिल्लाको नेतृत्व उत्तरी क्षेत्रले लिने कि दक्षिणी क्षेत्रले भन्ने विषय झन् पेचिलो बन्दै गएको छ। लामो समयदेखि जिल्लाको नेतृत्व दक्षिणी क्षेत्रले लिँदै आएको र उत्तरी क्षेत्रमा क्षमतावान् नेताहरू हुँदाहुँदै वञ्चित बनिरहेको उत्तरी क्षेत्रका नेताहरूको गुनासो छ । तर, दक्षिणी क्षेत्र वा उत्तरी क्षेत्रभन्दा पनि एमाले महोत्तरीलाई बलियो र सन्तुलित ढंगले हाँक्न सक्ने नेताकै पोल्टामा यस पटकको नेतृत्व सुनिश्चित हुने कतिपय नेताहरूको भनाइ छ ।

बलम्पाकीले पार्टी छाडेर पुनः माओवादी केन्द्रमा नै फर्किए पनि एमाले महोत्तरीले १०आँै महाअधिवेशनबाट उनीबाहेक २ केन्द्रीय सदस्य र १ पोलिटब्युरो सदस्य पाएको थियो । यति धेरै केन्द्रीय स्तरका नेताहरू भएको जिल्लामा अधिवेशनले पूर्णता पाउन नसक्दा तल्लो तहका कार्यकर्तामा भने असन्तुष्टि चुलिँदो छ ।

प्रतिक्रिया दिनुहोस्