गण्डकीको मुख्यमन्त्रीमा काँग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त, भोलि शपथ



काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। नेपाली काँग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादीका १ गरी ३५ जना समर्थनमा पाण्डे आज बिहीबार मुख्यमन्त्री नियुक्त भएका हुन्।

नवनियुक्त मुख्यमन्त्री पाण्डेको शपथ भने शुक्रवार भोलि हुने भएको छ। शुक्रवार मध्यान्ह मुख्यमन्त्री पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ खुवाउने भएका छन् ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएर पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन्। पाण्डे गत मङ्सिर ४ को चुनावमा गोरखा-२ को २ बाट निर्वाचित भएका थिए।

नेकपा एमाले संसदीय दल नेतासमेत रहेका मुख्यमन्त्री खगराज अधिकारीले गत शनिवार प्रदेश सभाबाट विश्वासको मत नपाएपछि उनको पद गएको थियो। त्यसपछि प्रदेश प्रमुख गुरुङले बिहीबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्री दाबी गर्न दलहरूलाई आह्वान गरेका थिए।गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ जना सांसद चाहिन्थ्यो।

प्रतिक्रिया दिनुहोस्