विराटनगर : कोइराला परिवारका तीन नेताले एक भएर अघि बढ्ने प्रण गरेका छन् । आइतबार जिपी फाउण्डेशन प्रदेश नम्बर १ कार्यालयको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्य डा शेखर कोइराला र सुजाता कोइरालाले पारिवारिक एकतासँगै पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
उनीहरुले भने– “हामी हिजोपनि एक थियौं, आज पनि छौं भोलीपनि रहनेछौं यसमा कुनै भ्रम नरहोस् ।” यो अभिव्यक्तिले उपस्थित सम्पूर्ण नेता कार्यकर्तामा उत्साह थपिएको थियो ।
एकता, राजनीतिक निकास र पार्टीका हितका लागि आफूहरू व्यक्तिगत स्वार्थ त्याग्न तयार रहेको महामन्त्री कोइरालाले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले सभापति जोसुकै भए पनि राष्ट्र, जनता र पार्टीको हितका लागि आफूहरू त्याग गर्न तयार रहेको स्पष्ट पारे।
महामन्त्री कोइरालाले भने सबैलाई मिलाएर लैजान सक्ने नेतृत्व आए कोइराला परिवार त्याग गर्न तयार छ । उनले पार्टीको सभापति कोइराला परिवारकै हुनुपर्छ भन्ने नभई कांग्रेसका जोसुकै नेता पनि बन्न सक्ने स्पष्ट पारे । उनले कांग्रेसलाई युवाहरूको पार्टीका रुपमा स्थापित गर्न युवाहरूलाई पार्टीमा आकर्षण गर्न जरुरी रहेको बताए ।
कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोइराला परिवारका तीन नेता तीनतिर भन्ने भ्रमबाट मुक्त हुन कार्यकर्तालाई आग्रह गरे । कोइरालाले आफूहरू कहिलै पनि विभाजित नभएको दाबी समेत गरे । तीनै जनाले एउटै माला लगाएपछि अब सबै भ्रमहरू अन्त्य भएको उनीहरुले बताए ।
सुजाता कोइराला अध्यक्ष रहेको जिपी फाउण्डेशनले तीनै जना कोइराला परिवारका नेताहरूलाई एउटै माला लगाइदिएको थियो । कोइराला परिवारका तीन नेता धेरै वर्षपछि एउटै मञ्चमा सहभागि भएका थिए । पुर्खाको सपना साकार पार्न कोइराला परिवारका तीनै जना नेता एक भएर अघि बढ्ने पनि डा कोइरालाले स्पष्ट पारे ।
यसैबीच, स्थानीय तहको निर्वाचनमा पार्टी त्यागेर तत्कालिन माओवादीमा प्रवेश गरेका मोरङका बाबुराजा ओझा पूनः कांग्रेसमै फर्किएका छन् ।