काठमाडौं : भूकम्पले भत्किएका पाँच ऐतिहासिक र पुरातात्विक महत्व बोकेका भवनको प्रवलीकरण गरिने भएको छ ।
विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले केन्द्रीय प्रशासकीय भवनका रुपमा रहेको सिंहदरबार, सडक विभाग र महालेखा परीक्षकको कार्यालय रहेको बबरमहल, केशर पुस्तकालय रहेको केशरमहल, नक्सालस्थित बालमन्दिर तथा जमलस्थित कानून पुस्तकालयको भवन प्रवलीकरण गरेर बचाउन सकिने प्रारम्भिक प्रतिवेदन प्राप्त भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन )ले जनाएको छ ।
भवन प्रवलीकरणका लागि लाग्ने लागतसहित नमुनाको काम भइरहेको एकाइका आयोजना निर्देशक नवराज प्याकुरेलले बताए । सिंहदरबारको उत्तर, पूर्व र दक्षिण भागको नमुना सम्पन्न भई प्रवलीकरण शुरु भइसकेको छ ।
बाँकी चार भवनको नमुनाको काम भइरहेको एकाइले जनाएको छ । यसअघि नै दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) को सचिवालय रहेको लैनचौरस्थित भवन प्रवलीकरण सम्पन्न भइसकेको छ ।