नयाँ दिल्ली: भारतका सामाजिक कार्यकर्ता वरवर रावलाई पुनः पुणे प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । रावको परिवारले हैदरावादस्थित उनको घरबाट उनलाई पक्राउ गरी हिरासतमा राखेको पुष्टि गरेको छ । उनलाई रातको ११ बजेको उडानबाट पुणे लगेर अदालतसमपक्ष पेश गर्ने तयारी गरेको जानकारी दिएको पनि प्रहरीको भनाई छ ।
यसै वर्षको २९ अगस्टमा वरवर रावलाई उनकै घरमा नजरबन्दमा राखिएको थियो । वरवर रावका वकिलले हैदरावाद उच्च अदालतमा पुणे प्रहरीद्वारा पेश गरिएको ट्रान्जिट वारेन्टलाई चुनौती दिएका थिए । वकिलले वारेन्ट मराठी भाषामा रहेकाले त्यसलाई रद्द गर्न माग गरेका थिए । तर अदालतले उनका वकिलको तर्क सुन्न अस्वीकार गरेपछि प्रहरीले उनलाई हिरासतमा लिएको हो ।
वरवर रावका भतिजा वेणुगोपालले भने, ‘यो गैरकानुनी कदम हो । शुक्रबार अदालतले यो ट्रान्जिट वारेन्टमाथि सुरुवाई गरेको थिएन किनकि यसको अवधि समाप्त भएको थियो । जब वारेन्टको अवधि नै सकिएको थियो भने त्यसको आधारमा हिरासतमा कसरी लिन सकिन्छ ।’
शनिबार साँझ पुणे प्रहरी आएको थियो । तर उनीहरुका साथमा नयाँ वारेन्ट थियो न त उच्च उदालतको आदेश थियो,’ उनले भने, ‘यसका लागि कुनै दस्तावेजको जरुरत थिएन । यो गैरकानुनी काम हो, जुन प्रहरीले गरेको छ ।’
यसैवर्षको जनवरीमा महाराष्ट्रको भीमा–कोरेगाउँमा भएको हिंसाको घटनालाई लिएर ५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । यसरी पक्राउ पर्नेमा एक वरवर राव पनि थिए ।उनका साथै सुधा भारद्वाज, गौतम नवलखा, वरनान गोन्जाल्विस र अरुण फरेरालाई भारतका विभिन्न स्थानबाट पक्राउ गरिएको थियो ।
उनीहरुको गिरफ्तारीको विरोधमा हालिएको रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले नजरबन्दमा राख्ने फैसला सुनाएको थियो । ७८ वर्षीय वरवर राव वामपन्थी विचारमा झुकाब राख्ने तेलुगु भाषाका कबि र लेखक हुन् । उनी रिभोल्युसनरी राइटर्स एशोसिएसनका संस्थापक पनि हुन् ।