नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिनेको सङ्ख्या बढ्दै 



काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेहरूको सङ्ख्या १५ पुगेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियासलाई प्रहरी आज पक्राउ गरेसँगै पक्राउ पर्नेको सङ्ख्या १५ पुगेको हो ।

प्रहरीले अनुसन्धानका क्रममा  नेकपा एमालेका सचिव टोप बहादुर रायमाझी र पूर्व गृहमन्त्री बाल कृष्ण खाँणसहितका अन्य चौध जनालाई पक्राउ गरेको थियो ।

यो प्रकरणमा नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्र जित राई समेत पक्राउ परेका छन् । यस्तै काँग्रेसका पूर्व सभासद आङ्टावा शेर्पा समेत पक्राउ परेका छन् ।

२०७९ चैत १२ मा  केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारी पक्राउ परेका थिए । यस्तै चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका थिए ।

यस्तै पूर्व गृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउ परेका छन् । मियाबाहेक अन्य १४ जनाविरुद्ध बुधवार ३ दिनको म्याद थप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्