
काठमाडौँ । तामाकोसी नदीमा आत्महत्या प्रयास गर्ने रामेछापका एक युवालाई सशस्त्र प्रहरी बलको टोलीले जीवितै उद्धार गरेको छ ।
मन्थली नगरपालिका–१ आकाशेस्थित तामाकोसी नदीको पक्की पुलबाट बिहीबार दिउँसो हामफालेका २५ वर्षीय हर्कमान माझीलाई सशस्त्रको टोलीले उद्धार गरेको हो । नेपाल आश्रित गुल्मका प्रहरी नायव निरीक्षक (सई) केदारराज खड्का नेतृत्वको टोलीले मन्थली नगरपालिका–७ वडारेका माझीलाई उद्धार पश्चात् उपचारका लागि मन्थली अस्पताल पु¥याएको छ ।
तामाकोसीमा सशस्त्र टोली उद्धार अभ्यास गरेर आराम गरिरहेका बेला माझीले नदीमा हामफालेका थिए । उद्धार टोली घटनास्थल नजिकै भएकाले उनी सकुशल छन् ।
‘मदिरा पिएका उनले (माझीले) आवेगमा आत्महत्याको प्रयास गरेका उद्धार टोलीलाई बताएका छन् । उनको ढाडमा सामान्य चोट लागेको छ, त्यस्तो ठुलो स्वास्थ्य समस्या भएको छैन’, सशस्त्र बल मुख्यालयका प्रहरी नायव उपरीक्षक एवं सहायक प्रवक्ता शैलेन्द्र थापाले भने ।