सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार 



काठमाडौँ । लामो समयपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शाहले  आज शनिवार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । शाहले माओवादी केन्द्रका र नेपाली काँग्रेसका नेताहरूलाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

नेपाली काँग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंहले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । शनिवार नै बसेको काँग्रेसको सुदूरपश्चिम संसदीय दलको बैठकले सिंहलाई मन्त्री बनाउने निर्णय गरेको थियो ।

माओवादी केन्द्रबाट झपट साउद र रमेश धामी मन्त्री बनेका छन् भने गीतादेवी माल राज्यमन्त्री बनेकी छन् । साउद सामाजिक विकास मन्त्री र धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् ।  गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेकी छन् ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूको शनिवार अपराह्न शपथ हुने जनाइएको छ । २०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले दोस्रो दिन काँग्रेसका प्रकाशबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई मन्त्री नियुक्त गरेका थिए । देउवाले भौतिक पूर्वाधार र शाहीले आर्थिक मामिला मन्त्रालयको जिम्मा पाएका छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा को सहभागी हुने भन्ने टुङ्गो लागेको छैन। सुदूर पश्चिमा नाउपाले एक मात्रै मन्त्रालय पाउने भएको छ । नागरिक उन्मुक्ति पार्टीले भने आफूहरूले दुई मन्त्रालय पाउनुपर्ने माग राख्दै आएको छ । मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खाली राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्