राईले गरेको यौन दुर्व्यवहारको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक, राईले संवेदनशील अङ्गहरूमा हात हाल्ने र शारीरिक सम्पर्कका लागि आग्रह गर्थे



काठमाडौँ । खोटाङको दिक्तेलस्थित रुपाकोटा मजुवागढी नग्रपालिका २ मा रहेको मदन (शुभम) फाउण्डेशनमा भएको बाल यौन दुर्व्यवहार घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको । अध्ययन प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो । अध्ययन प्रतिवेदनमा आफूलाई कृषि वैज्ञानिक भन्ने मदन राईले आफू र आफ्नो श्रीमतीको नामबाट स्थापना गरेको शुभद्रा मदन फाउण्डेशनमार्फत सञ्चालन गरेको विद्यालयमा अध्ययनरत छात्राहरूलाई निर्वस्त्र भई अश्लील शब्दहरू प्रयोग गर्ने, निर्वस्त्र भई मसाज गर्न लगाउने, संवेदनशील अङ्गहरूमा हात हाल्ने र शारीरिक सम्पर्कका लागि आग्रह गर्ने गरेको उल्लेख गरिएको छ ।

राईले विद्यालयको प्रार्थनाको समय वा अन्य कुनै समयमा पनि बालबालिकाको अगाडि निर्वस्त्र हुने, बालबालिकाहरूलाई लहरै राखेर यौनजन्य गतिविधि गर्ने÷गर्न लगाउने गरेको पाइएको  प्रतिवेदनमा उल्लेख गरिएको छ ।

राईले सहरी शिक्षाका लागि भन्दै ललितपुरस्थित आफ्नै घरमा लगेर समेत किशोरीहरूमाथि दुर्व्यवहार गर्ने गरेको र शारीरिक सम्पर्कपछि रजस्वला भए÷नभएको बारेमा पनि सोधपुछ गर्ने गरेको पाइएको छ । अध्ययन समितिले विद्यालय हाताभित्रै होमस्टे, क्याफे सञ्चालन गरेको पाइएको र उक्त क्याफेहरूमा कर्मचारीको रूपमा बालबालिका र किशोरीहरूलाई काम लगाउने गरेको  पाइएको पनि  जनाएको छ ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य राईले मदन राईलाई पक्राउ गरेपछि बालबालिकाहरूलाई त्यहाँका गतिविधि नभन्न दबाब र धम्की दिएको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

अध्ययन समितिले पीडित बालबालिकाको तत्काल उद्धार गर्न, आवास गृहमा भएका कानुन विपरीतका कार्यलाई अनुसन्धानको दायरामा ल्याउन, विद्यालयमा बाल संरक्षण संयन्त्र निर्माण गर्न आवश्यक रहेको औँल्याएको छ । राईले सञ्चालन गरेको विद्यालयमा अहिले पनि १०१ जना बालबालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्