सङ्क्रमणकालीन न्यायको विषय टुङ्गो लगाउन सरकारलाई एमालेको समर्थन रहने



काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सङ्क्रमणकालीन न्यायको विषय टुङ्गो लगाउन सरकारलाई सहयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सङ्क्रमणकालीन न्यायको विषय टुङ्गो लगाउन एमालेको सहयोग रहने बताएका हुन् ।

आइतबार १४औँ राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसको अवसरमा आयोजित अन्तर्क्रियामा उनले सरकारसँग अरू विषयमा असहमति भए पनि सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन सहयोग रहने बताएका हुन् ।

सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन प्रतिनिधिसभामा दर्ता गरेको छ र हाल संसद्को विषयगत समितिमा छलफलको क्रममा छ। उपमहासचिव ज्ञवालीले विधेयकलाई टुङ्ग्याउँदा दलहरूबिच पर्याप्त छलफल हुनुपर्ने र पीडितलाई न्याय हुनुपर्ने बताएका छन् ।

उनले भने, ‘धेरै कुरामा हाम्रा असहमतिहरू होलान्, तर सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने कुरामा पूर्ण समर्थन रहनेछ । यो विधेयक टुङ्ग्याउँदा दलहरूको बिचको परामर्शलाई पर्याप्त बनाउनुहोस् तर सबैभन्दा ठुलो कुरा यहाँ अघि बसेका पीडितहरूको न्याय हुनुपर्छ । उहाँहरूको परामर्शमा ल्याएर मात्रै न्याय दिने गरी ल्याइयोस् ।’

प्रतिक्रिया दिनुहोस्