नक्कली शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान गर्न अख्तियार र सम्पत्ति शुद्धीकरणलाई  पठायो पत्र 



काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धानका लागि काठमाडौँ प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई भ्रष्टाचारको विषयमा थप अनुसन्धान गर्ने पत्र पठाएको छ । सार्वजनिक पद धारण गरेका बालकृष्ण खाँण, टोप बहादुर रायमाझी, इन्द्रजित राई, टेक नारायण पाण्डे लगायतका व्यक्तिहरूको भ्रष्टाचारको विषयमा थप अनुसन्धानका लागि काठमाडौँ प्रहरी परिसरले अख्तियारलाई पत्र पठाएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दान बहादुर कार्कीका ले सार्वजनिक पद धारण नगरेका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा लगायतका बिचौलियाहरूको हकमा अकुत सम्पत्तिमा छानबिनका लागि परिसरले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समेत पत्र पठाएको  जनाएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले आफ्नो सीमित समय र अनुसन्धानको दायरा फराकिलो बनाउन नसकेको र कतिपय विषय आफ्नो क्षेत्राधिकारभन्दा बाहिर रहेको भन्दै उनीहरूको सम्पत्तिको छानबिन तथा भ्रष्टाचारका सम्बन्धमा थप अनुसन्धानका लागि पत्र पठाएको हो ।

सोमबार मात्रै जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३२ जनालाई प्रतिवादी बनाएर २७ करोड ५० लाखको बिगो दाबी लिएर मुद्दा चलाउनुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा रायसहितको प्रतिवेदन बुझाइसकेको छ । पक्राउ परेका १६ जना र फरार रहेका थप १६ जना गरी कुल ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्