सेयर बजारमा उछाल, तीन महिना यताकै उच्च कारोबार 



काठमाडौँ । लगातार उकालो लागिरहेको सेयर बजार परिसूचक नेप्से  साताको तेस्रो दिन आज मङ्गलवार भने भारी अङ्कले उकालो  लागेको छ । आज सेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले उकालो लागेको हो ।

साताको तेस्रो कारोबार दिन मङ्गलवार बजार परिसूचक नेप्से ५१.३१ अङ्कले उकालो लागेको हो । आज नेप्से उकालो लागेसँगै १९४२.६३ विन्दुमा पुगेको छ । सेयर बजारमा सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि २‍.७१ प्रतिशतले वृद्धि भएको हो । उत्पादनमूलक उपसूचक सर्वाधिक ४.०५ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ४.०३ प्रतिशतले वृद्धि भएको छ ।

आज मङ्गलवार नेप्सेमा ३८ हजार ७९६ वटा कारोबारमा ६० लाख ६७ हजार ४३२ कित्ता सूचीकृत धितो पत्र किनबेच हुँदा २ अर्ब २० करोडको कारोबार भएको छ । मङ्गलवार नेप्सेमा करिब ३ महिना यताकै उच्च रकमको कारोबार भएको छ । यसअघि १४ फागुनमा २ अर्ब माथिको कारोबार भएको बजारमा त्यसपछि २ अर्ब माथिको कारोबार भएको थिएन ।

आज सबैभन्दा धेरै कारोबार हुनेमा शिवम् सिमेन्टको रहेको छ । यसको सर्वाधिक १० करोड ५ लाखको कारोबार भएको हो । दोस्रोमा नेपाल दूरसञ्चार प्राधिकरण रहेको छ । जसको ८ करोड ९९ लाख र एनआईसी एसिया बैङ्कको ७ करोड २४ लाखको कारोबार भएको छ ।

मङ्गलवार नेप्सेमा कुल २२२ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा २१९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । २ कम्पनीको सेयर मूल्य गिरावट हुँदा १ कम्पनीको सेयर मूल्य स्थिर छ । आज कारोबार भएकामध्ये कालिका लघुवित्त, खप्तड लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट मूल्यमा कारोबार भएका छन् । सामुदायिक लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।सेयर मूल्य घट्ने २ कम्पनीमा आदर्श लघुवित्तको १.२३ प्रतिशत र किसान लघुवित्तको सेयर मूल्य ०.६८ प्रतिशतलेओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्