तीन अर्ब ४५ करोड लागतमा २२ तले धरहरा



काठमाडौं : सुन्धारास्थित रहेको ९ तले धरहरा काठमाडौंको चिनारी थियो । आसपासका पहाड तथा जिल्लाबाट धरहराको टुप्पो हेरेर काठमाडौं ठम्याइन्थ्यो ।

२०७२ वैशाख १२ को भूकम्पले धरहरा ढाल्यो । त्यसयता काठमाडौं फुंग छ, पंखेटा नभएको पंक्षीजस्तो ।

धरहरा परिसरमा गएर हेर्दा ठुटो देखिन्थ्यो धरहराको । भूकम्पको याद गराउँथ्यो, साथै सरकारको पुनर्निर्माण सुस्ततालाई पनि इंगित गर्थ्यो । महिना दिन अगाडिको अवस्था हो यो । अहिलेचाहिँ धरहराको रूप फेरिने क्रममा छ । धमाधम धरहरा निर्माणको काम चलिरहेको छ । भूकम्पले भत्काएर बाँकी रहेको ठुटोसँगै धमाधम डोजर लगाएर काम गरिरहेको देखिन्छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफैंले ठेक्का लगाएर महिना दिनअघि धरहरा निर्माण थालेको हो । धरहरा निर्माणको जिम्मा तीन अर्ब ४५ करोडमा जिआइइटिसी कालिका रमन जेभीले ठेक्का लिएको छ । ठेकेदार कम्पनीका अनुसार अहिले धमाधम ठाउँ पन्छाउनेदेखि जग खन्नेसम्मको काम भइरहेको छ ।

धरहरा रहेको जग्गासँगै टक्सार विभाग र हुलाक सेवा विभाग भवन पनि छ । त्यो सहितको जग्गामा बन्ने धरहरा २९ रोपनी क्षेत्रफलमा फैलिनेछ । अहिले धरहराले ६ रोपनी जग्गा ओगटेको छ भने हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा ओगटेको छ । 

तर, हुलाक र टक्सारको जग्गामा रहेको भवन भत्काएर पन्छाउने काम भएको छैन । ठेकेदार कम्पनीका अनुसार ती भवन पन्छाउन भने अनुमति आइसकेको छैन । ठेकेदार कम्पनीका पवन महतोले भने, ‘सबै ठाउँ उपलब्ध भइनसकेकाले अहिलेचाहिँ धरहरा रहेको क्षेत्रको जग्गामा काम भइरहेको छ ।’

प्राधिकरणका सहसचिव तथा सम्पदा शाखा प्रमुख राजुमान मानन्धरका अनुसार सबै समस्याको समधान गरेर धरहरा निर्माणलाई तीव्रता दिन प्राधिकरण लागेको छ । प्राधिकरणले तोकिएकै समयमा धरहरा निर्माण गर्न प्रतिवद्ध छ । प्राधिकरणले दुई वर्षमा धरहरा निर्माण गर्ने लक्ष्य राखेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्