गुणस्तरहीन पेट्रोल बेच्ने उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष घिमिरेलाई २ लाख जरिमाना



रामेछाप । गुणस्तरहीन पेट्रोलीयम पदार्थ विक्री वितरण गरेको आरोपमा रामेछाप उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष केशव घिमिरेलाई २ लाख जरिमाना गरिएको छ । घिमिरेले सञ्चालन गरेको लक्ष्मी आयल स्टोरलाई जिल्ला प्रशासन कार्यालयले २ लाख रूपैयाँ जरिमानासहित कारबाही गरेको हो।

मन्थली नगरपालिका १ को भैसेश्वरमा रहेको लक्ष्मी आयल स्टोर कम्पनीले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ‘ङ’ बमोजिमको कसूर गरेको देखिएकोले सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (क) (ख) (ग) र (घ) र (ङ) बमोजिम २ लाख जरिमाना गरिएको जिल्ला प्रशासनले जनाएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ‘ङ’ मा ‘दफा १६ को उपदफा (२) को खण्ड (क), (छ), (ञ) वा (ठ) बमोजिमको अनुचित व्यापारिक क्रियाकलाप गरे वा गराएमा’ भन्ने उल्लेख छ ।

दफा १६ को उपदफा २ क मा ‘वस्तु वा सेवाको वास्तविक गुणस्तर, प्रमाण, मूल्य, नाप तौल, ढाँचा वा बनावट आदि ढाँटी, लुकाई, छिपाई वा झुक्याई विक्री वा प्रदान गर्ने’ भन्ने उल्लेख छ । यस लगायत अन्य कसुर पनि देखिएपछि प्रशासन कार्यालको टोलीले लक्ष्मी आयल स्टोरलाई कारबाही गरेको हो ।

प्रतिक्रिया दिनुहोस्