काठमाडौँ: कांग्रेसभित्र कोइराला परिवारका तीन नेताहरूले विगतका सबै तिक्तता बिर्सेर एक भएको उद्घोष गरेका छन् । आइतबार विराटनगगरस्थित कोइराला निवासमा जिपी फाउन्डेसनको १ नम्बर प्रदेश कार्यालयको संयुक्त रूपमा उद्घाटन गर्दै डा. शशांक कोइराला, सुजाता कोइराला र डा. शेखर कोइरालाले एकताको उद्घोष गरेका हुन् ।
उनीहरूले आफूहरू कहिल्यै विभाजित नभएको र भविष्यमा पनि कुनै हालतमा नहुने उद्घोष मात्र गरेनन्, मञ्चमा एउटै माला लगाएर एकताको सन्देश पनि प्रवाह गरे । कांग्रेस महामन्त्री डा. शशांक बिपीपुत्र, केन्द्रीय सदस्य सुजाता गिरिजापुत्री र डा. शेखर नोना र केशवप्रसाद कोइरालाका छोरा हुन् । तीनैजनाले एकैपटक ब्यानर उघारेर फाउन्डेसनको कार्यालय उद्घाटन गरेका थिए ।
कांग्रेस बलियो बनाउन एक
कांग्रेस महामन्त्री शशांक कोइरालाले काका गिरिजाप्रसादलाई युगपुरुषको संज्ञा दिँदै विराटनगर कांग्रेसका लागि ऊर्जावान स्थान भएको र आफूहरू पार्टी बलियो बनाउन एक भएको बताए । ‘गिरिजाबाबु केही सन्देश दिनुप-यो भने विराटनगर किन आउनुहुँदोरहेछ भन्ने मैले बल्ल बुझ्न पाएँ, यसैले म निर्धक्कका साथ भन्छु, हामी कहिल्यै फुटेका छैनौँ र फुट्दैनौँ, कांग्रेसलाई बलियो बनाएर राष्ट्र निर्माणका लागि सधैँ एक भएर लागिपर्छौं,’ उनले भने ।
शशांकले बिपीले एकपल्ट प्रभुनारायण चौधरीलाई प्रधानमन्त्री बनाउने घोषणा गरेझैँ आफूहरू पनि कांग्रेसका लागि त्याग गर्न तयार रहेको बताए । ‘हामी आफैँ सभापति हुनुपर्छ भनेर कोही भन्दैनौँ, आवश्यकतानुसार त्याग गर्न तयार छौँ,’ उनले भने ।
बिपी र जिपीको सपना पूरा गर्न प्रतिबद्ध
केन्द्रीय सदस्य शेखरले कोइरालाहरू तीनतिर फर्केर राजनीति गर्दैछन् भन्ने भ्रम पूर्णरूपमा हटाउन कार्यकर्तालाई आग्रह गरे । ‘हामी हिजो पनि एक थियौँ, आज पनि छौँ र भोलि पनि हुनेछौँ,’ उनले भने । शेखरले तीन कोइरालालाई एउटै मञ्चमा जुटाइदिएकोमा बिपी फाउन्डेसन र १ नम्बर प्रदेशका कांग्रेस कार्यकर्तालाई धन्यवाद पनि दिए । उनले बिपी र जिपीको सपना पूरा गर्न प्रतिबद्ध रहेको बताएका नयाँ पत्रिकामा खवर छ ।
विराटनगरबाट कांग्रेसमा एकताको सुरुवात
केन्द्रीय सदस्य तथा जिपी फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाले सम्पूर्ण कांग्रेसीहरूको एकता आजको आवश्यकता भएकाले आफूहरूले विराटनगरबाट कांग्रेसमा एकताको सुरुवात गरेको बताइन् ।