भुटानी शरणार्थी प्रकरण : ३० जनाविरुद्ध ५ थरी मुद्दा



काठमाडौँ । काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा अदालतमा दायर गरेको छ । नेपाली नागरिकलाई अवैध रूपमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको प्रकरणमा प्रहरीले अनुसन्धान गरी पेस गरेको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो ।

प्रहरीले पेस गरेको प्रतिवेदनमा ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा चलाउन राय राखेको थियो । प्रहरीले बुझाएको सोही रायअनुसार नै सरकारी वकिल कार्यालयको ८ सदस्यीय समितिले प्रतिवेदन अध्ययन गरी अभियोजन पत्र तयार गरेका थिए । २ महिनाको अनुसन्धानपछि प्रहरीले सरकारी वकिल कार्यालयलाई सोमबार प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनको अध्ययनपछि सरकारी वकिलले मुद्दा दायर गरेका हुन् ।

पक्राउ परेका १६ सहित फरार रहेका १४ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ । यस प्रकरणमा पहिलो व्यक्ति पक्राउ परेको ६०औँ दिनमा मुद्दा दर्ता भएको हो ।

रकम असुली गरेको अभियोगमा ठगीसम्बन्धी मुद्दा दायर भएको हो भने झुठा कागजात बनाएको अभियोगमा लिखत किर्तेसम्बन्धी कसुर, अनुसन्धानका क्रममा राज्यविरुद्ध हुने काम गरेको भन्दै राज्यविरुद्धको अपराध र संगठित अपराधमा उनीहरूविरुद्ध मुद्दा दायर भएको सरकारी वकिल कार्यालयले जनाएको छ ।
त्यस्तै, टोपबहादुर रायमाझी, बालकृष्ण खाण, डा. इन्द्रजित राई, टेकनारायण पाण्डेलगायतलाई एकीकृत कसुरतर्फ पनि मुदा दायर गरिएको छ ।

मुद्दा दायर भएसँगै जिल्ला सरकारी वकिल कार्यालयले सबै प्रतिवादीको सम्पत्ति र पासपोर्ट रोक्का गर्न माग गरेको छ । अभियोग दर्ता भएका ३० जना प्रतिवादीको सम्पत्तिका साथै पासपोर्टसमेत रोक्का गर्न सरकारी वकिल कार्यालयले माग गरेको हो ।

दायर गरिएको अभियोगपत्रमा भनिएको छ, ‘प्रतिवादीहरूको रोक्का राखिएको सम्पत्ति संगठित अपराध निवारण ऐन, २०७० को दफा १५ को उपदफा (२) बमोजिम रोक्का हुन तथा दफा १७ बमोजिम राहदानीसमेत रोक्का राख्न सादर अनुरोध छ ।’

यो प्रकरणमा पीडितहरूबाट २८ करोड ८१ लाख ७४ हजार ५०० रुपैयाँ ठगी गरेको निष्कर्ष निकाल्दै मुलुकी अपराध संहिता, २०७४ को दफा २५४ बमोजिम प्रतिवादीहरूबाटै जाहेरवालाहरूलाई दिलाउनसमेत मागदाबी गरिएको छ । प्रतिवादीहरू टोपबहादुर रायमाझी, बालकृष्ण खाण, डा. इन्द्रजित राईलगायतलाई नै क्षतिपूर्ति गराउन माग गरिएको छ । ‘अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ अनुसार कसुरदारबाट पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराई पाउन अनुरोध छ,’ अभियोगपत्रमा भनिएको छ ।

कसलाई कुन मुद्दा ?

ठगीसम्बन्धी मुद्दा

प्रतिवादीहरू टोपबहादुर रायमाझी, बालकृष्ण खाण, डा. इन्द्रजित राई, टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, शमशेर मिया, टंककुमार गुरुङ, सागर राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, विक्रम भन्ने गोविन्द चौधरी, आङटावा शेर्पा, टेकनाथ रिजाल, प्रतीक थापा, केशव तुलाधर, लक्ष्मी महर्जन, धीरेन राई, मोहनराज राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता सावदेन लिम्बू, निरञ्जनकुमार खरेल, हरिभक्त महर्जन, अशोक पोखरेल, राजेश अर्याल, निरज राई र आशिष बुढाथोकीविरुद्ध ठगी मुद्दा चलाइएको छ ।

उनीहरूउपर मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिमको कसुर गरेको पुष्टि भएको जिकिर गरिएको छ । सोहीअनुसार उक्त कसुरमा प्रतिवादीहरूलाई सोही संहिताको दफा २४९ को उपदफा (९) को खण्ड (ग) बमोजिम सजाय माग दाबी गरिएको छ ।

लिखतसम्बन्धी कसुर (किर्ते)

यसैगरी, टोपबहादुर रायमाझी, बालकृष्ण खाण, डा. इन्द्रजित राई, टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, शमशेर मिया, टंककुमार गुरुङ, सागर राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, विक्रम भन्ने गोविन्द चौधरी, आङटावा शेर्पा, टेकनाथ रिजाल, प्रतीक थापा, केशव तुलाधर, लक्ष्मी महर्जन, धीरेन राई, मोहनराज राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता सावदेन लिम्बू, निरञ्जनकुमार खरेल, हरिभक्त महर्जन, अशोक पोखरेल, राजेश अर्याल, निरज राई र आशिष बुढाथोकीविरुद्ध लिखतसम्बन्धी कसुर मुद्दा लगाइएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ को उपदफा (१) र (२) बमोजिम उनीहरूले सरकारी लिखत किर्तेको कसुर गरेको पुष्टि हुन आएको अभियोगपत्रमा उल्लेख छ । प्रतिवादीहरूलाई सोही संहिताको दफा २७६ को उपदफा (३) को (ग) बमोजिम सजाय मागदाबी गरिएको छ ।

राज्यविरुद्धको कसुर

यसैगरी, टोपबहादुर रायमाझी, बालकृष्ण खाण, डा. इन्द्रजित राई, टेकनारायण पाण्डे, टेकनाथ रिजाल र शमशेर मियामाथि राज्यविरुद्धको कसुरको मुद्दा पनि लागेको छ ।

राज्यविरुद्धको कसुरतर्फ समेत मुद्दा चलाइएकामा केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, टंककुमार गुरुङ, सागर राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, विक्रम भन्ने गोविन्द चौधरी, आङटावा शेर्पा, प्रतीक थापा, केशव तुलाधर, लक्ष्मी महर्जन, धीरेन राई, मोहनराज राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनित सावदेन लिम्बू, निरञ्जनकुमार खरेल, हरिभक्त महर्जन, अशोक पोखरेल, राजेश अर्याल, निरज राई र आशिष बुढाथोकी पनि छन् ।
जसअनुसार उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा ५१ को उपदफा (१) र (२) को खण्ड (क) बमोजिम राज्यविरुद्धको कसुर गरेको पुष्टि हुन आएको भन्दै सजाय मागदाबी गरिएको छ ।

संगठित अपराधसम्बन्धी कसुर

यस्तै, प्रतिवादीहरू टोपबहादुर रायमाझी, बालकृष्ण खाण, डा. इन्द्रजित राई, टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, शमशेर मिया, टंककुमार गुरुङ, सागर राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, विक्रम भन्ने गोविन्द चौधरी, आङटावा शेर्पा, टेकनाथ रिजाल, प्रतीक थापा, केशव तुलाधर, लक्ष्मी महर्जन, धीरेन राई, मोहनराज राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता सावदेन लिम्बू, निरञ्जनकुमार खरेल, हरिभक्त महर्जन, अशोक पोखरेल, राजेश अर्याल, निरज राई र आशिष बुढाथोकीसमेतलाई संगठित अपराधसम्बन्धी कसुरको थप मुद्दा दायर गरिएको छ ।

संगठित अपराधसम्बन्धी कसुरतर्फ संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा (१), (२), (३) को खण्ड (क) तथा दफा ५ बमोजिमको कसुर गरेको पुष्टि भएकाले उक्त कसुरमा उनीहरूलाई सोही ऐनको दफा ९ को खण्ड (क) र (ख) अनुसार सजायको मागदाबी गरिएको छ । साथै, उनीहरूबाट बरामद गरिएको मोबाइल, आइप्याड, गाडी पनि जफत गर्न माग गरिएको छ ।

एकीकृत कसुर

यस्तै प्रतिवादीहरू टोपबहादुर रायमाझी, बालकृष्ण खाण, डा. इन्द्रजित राई, टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, शमशेर मिया, टंककुमार गुरुङ, सागर राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, विक्रम भन्ने गोविन्द चौधरी, आङटावा शेर्पा, टेकनाथ रिजाल, प्रतीक थापा, केशव तुलाधर, लक्ष्मी महर्जन, धीरेन राई, मोहनराज राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता सावदेन लिम्बू, निरञ्जनकुमार खरेल, हरिभक्त महर्जन, अशोक पोखरेल, राजेश अर्याल, निरज राई र आशिष बुढाथोकीविरुद्ध एकीकृत कसुरतर्फ पनि थप सजाय मागदाबी भएको छ ।

एकीकृत कसुरतर्फ मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को उपदफा १ बमोजिमको कसुरमा सोही संहिताको दफा ४३ को उपदफा २ बमोजिम थप सजायको समेत मागदाबी गरिएको छ ।

ठगीबापत बिगो ७० हजार रुपैयाँसम्म जरिमाना तथा ७ वर्षसम्म कैद सजाय हुन्छ भने संगठित अपराधमा अतिरिक्त ५० प्रतिशत सजाय थप हुने व्यवस्था छ । एकीकृत कसुरमा सबैभन्दा बढी सजाय हुने कसुरको सजाय र त्यसपछिको अधिकतम सजाय हुने अर्को कसुरबापतको सजायको आधा सजाय थप गरी सजाय हुने छ । यस्तै, राष्ट्रहितविरूद्धको कसुरमा ५० हजार रुपैयाँ जरिमाना तथा ५ वर्षसम्म कैदको सजाय हुनेछ । सरकारी कागजात किर्ते कसुरमा ७० हजार रुपैयाँसम्म जरिमाना तथा ७ वर्षसम्म कैद सजाय हुनेछ । त्यसबाहेक सार्वजनिक पदको दुरुपयोग मुद्दामा ५० प्रतिशत सजाय थप हुन सक्ने कानुनी व्यवस्था छ ।

अनुसन्धान जारी रहने

त्यस्तै, आरोपितहरूले बयानमा नाम लिएका र संलग्नता देखिएकाहरूमाथि पुनः अनुसन्धान हुने भएको छ । सरकारी वकिलको कार्यालयले पक्राउ परेकाहरूले बयानका क्रममा नाम लिएका, तर छानबिनको दायरामा नआएकाहरूको हकमा अनुसन्धान अघि बढाउने निर्णय गरेको हो ।

योसँगै पक्राउ परेका अभियुक्तहरूको बयानका क्रममा पोलेका थप व्यक्तिमाथि पनि अनुसन्धान गर्न सरकारी वकिल कार्यालयले प्रहरीलाई बाटो खुला गरिदिएको छ । मुद्दा दर्ता गरेसँगै सरकारी वकिलले बयानका क्रममा अभियुक्तहरूले पोलमा पारी खुलाएका व्यक्तिहरूको हकमा पनि अनुसन्धान गर्न भनेर जिल्ला प्रहरी परिसर काठमाडौँलाई निर्देशन दिएको हो ।

सरकारी वकिलले यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ललितपुरमा थप अनुसन्धानका लागि लेखेर पठाउनुपर्ने पनि उल्लेख गरेको छ ।

प्रहरीको अनुसन्धानबाट अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राई, पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, उनकी श्रीमती नैनकला थापा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, पूर्वप्रदेश सांसद अजयक्रान्ति शाक्य, विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापितलगायतको नाम बयानको क्रममा आएको थियो ।

को पक्राउ, को फरार ?

पक्राउ पर्नेमा बालकृष्ण खाण, टोपबहादुर रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, टेकनारायण पाण्डे, सन्दीप रायमाझी, इन्द्रजित राई, नरेन्द्र केसी, आङटावा शेर्पा, टेकनाथ रिजाल, शमशेर मियाँ, रामशरण केसी र गोविन्द चौधरी छन् ।

यस प्रकरणमा जोडिएका र पक्राउ पुर्जी जारी भएर पनि पक्राउ नपरेका फरार अभियुक्तहरूमा इन्द्रजित राईका छोरा निरज राई, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा, काठमाडौँका ३० वर्षीय केशव तुलाधर, ललितपुरकी ३२ वर्षीया लक्ष्मी महर्जन, ३४ वर्षीय हरिभक्त महर्जन, इटहरीका अशोक पोखरेल, मोरङका ३९ वर्षीय धीरेन राई र ललितपुरकी दीपा हुमागाईं छन् ।

त्यस्तै, ३० वर्षीय राजेश अर्याल, पाँचथरका ६० वर्षीय मोहनराज राई, काठमाडौँका २४ वर्षीय आशिष बुढाथोकी, मोरङकी ४० वर्षीया विनिता सावदेन लिम्बू, रौतहटका ४२ वर्षीय निरञ्जनकुमार खरेल, झापाका ३१ वर्षीय सुनिल बुढाथोकी पनि फरार सूचीमा छन् ।

प्रतिक्रिया दिनुहोस्