नाउपाले सुदूरपश्चिम प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने



काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिइएको समर्थन लिने भएको छ । सरकार विस्तारको क्रममा आफूहरूलाई बेवास्ता गरेको र मनोमानी ढङ्गले सरकार विस्तार गरेको भन्दै नाउपाले सरकारलाई दिएको समर्थ फिर्ता लिन लागेको हो ।

गएको शनिवार मुख्यमन्त्री शाहले सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीलाई बाहिरै राखेर मन्त्री मण्डल विस्तार गरेका थिए । मुख्यमन्त्री शाहले आफ्नै दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका सांसदलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेपछि सरकारसँग नाउपाको दुरी बढेको हो ।

नाउपाले मन्त्रालय भागबन्डाको क्रममा २ मन्त्रालय मागेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूहरूबिच प्रदेश सरकारको सामाजिक विकास र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा सहमति भएको  नाउपाले भनाई छ । तर प्रदेशमा उक्त सहमति कार्यान्वयन भएन ।

नाउपाको नेता तथा प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरीले भने, ‘पूर्व सहमति अनुसार २ मन्त्रालय र १ राज्यमन्त्री हामीलाई दिने सहमति भएको थियो । तर अन्तिम समयमा एक वटा मात्रै मन्त्रालयमा सीमित पारिँदै थियो । सभामुख, उपसभामुखदेखि मुख्यमन्त्रीलाई यहाँसम्म ल्याउनमा हामीले खेलेको भूमिकालाई नजरअन्दाज गरियो । हामीमाथि धोखा नै भएको छ । जुन कारण हामी एक पटक अझै प्रधानमन्त्रीसँग वार्ता गर्ने र सहमति कार्यान्वयन नभए समर्थन फिर्ता लिने तयारीमा छौ ।’

मुख्यमन्त्री शाह भने नागरी नाउपालाई एक मन्त्रालय दिएर सरकारलाई पूर्णता दिन चाहन्छन् । उनी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय  दिएर नाउपालाई फकाउन चाहेका छन् ।

५३ सदस्यीय प्रदेश सभा रहेको यहाँ बहुमतको सरकारको लागि २७ जना चाहिन्छ । नाउपा बाहिरै बसे पनि मुख्यमन्त्री शाहसँग स्पष्ट बहुमत देखिन्छ । यहाँ ५३ सदस्यीय प्रदेशसभामा सत्तारुढ दलमध्ये नेपाली काँग्रेसका १९, माओवादीका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ जना प्रदेश सभा सदस्य छन् । त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १०, राप्रपाका १ र १ जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्