कायम रहोस् बालेनको इच्छाशक्ति



thenepaltop

 काठमाडौँ । जसमा इच्छाशक्ति हुन्छ, त्यसलाई रोक्न जोकोहीलाई पनि कठिन हुन्छ । काठमाडौँ महानगरपालकाले सुरु गरेको डोजर अभियानको सिको गर्न अहिले देशभरकै जनप्रतिनिधि तातेका छन् । अनधिकृत जग्गामा डोजर चलाएर महानगरपालिकाको स्वामित्वमा राख्ने उनको अभियानमा बाधा र अड्चन नआएको होइन, विगतमा पनि समय–समयमा यसरी डोजर नचलाइएको होइन । तर, त्यसले निरन्तरता पाएको थिएन । जब गएको १५ जेठमा बालेन्द्र शाहले काठमाडौँको मेयरमा पद बहाली गरे, त्यस समय हरेक काम कठिनझैँ देखिन्थ्यो । बलियो दलीय संरचनाभित्र स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित बालेन्द्रको कार्यकाल कस्तो रहने भन्ने धेरैको चासो थियो । सोमबार उनले पद बहाली गरेको १ वर्ष हुँदै छ । यो १ वर्षको बीचमा उनको लोकप्रियता काठमाडौँ महानगरपालिकाबाट फैलिएर देशभरि पुगेको छ । जुनसुकै दलबाट निर्वाचित भएर जनप्रतिनिधि भए पनि उनको सिको गर्नेको संख्या प्रत्येक दिन बढ्दै छ ।

१ वर्षको समय पार नहुँदै ८० वटा अनधिकृत संचरना, १५० वटा सेटब्याक, १६ हजार ५५० ओभरल्याप मात्र होइन, ३ वटा प्रहरी बिटमा समेत डोजर चलाइयो । बालेन्द्र अभियान यतिमा रोकिएन, १५ हजार ५३८ स्क्वायर फिट पार्किङ र १ लाख ८० हजार ७५६ स्क्वायर फिट कालोपत्र सडकमा गरिएको पार्किङमा डोजर चलाएको काठमाडौँ महानगरले आफ्नो स्वामित्वमा रहेको जग्गाको खोजी र संरक्षण गर्ने कामलाई तीव्रता दिएको छ ।

नेपालमा ३ तहको सरकारको औचित्यमाथि नै प्रश्न खडा हुने अवस्था आइसकेको समयमा काठमाडौँको यो काम प्रशंसनीय त छ नै, साथै अनुशरणीय पनि । कुनै पनि निकायको नेतृत्वको पहिलो दायित्व नै त्यस निकायको सम्पत्तिको संरक्षण हो । योसँग अन्य नियमित काम त अनिवार्य भइहाले । अहिले नेपालका ठुला र प्रमुख राजनीतिक दलप्रति आमजनताको विश्वास टुट्दै गएको समयमा बालेन्द्रको आलोचनाभन्दा उनको अनुशरण गरेर धेरै जिल्ला तथा स्थानीय तहका नेताका लागि आफूलाई अझ बलियो बनाउने मौका पनि मिलेको छ । राम्रो काम गर्नेलाई बाधा अड्चन नआउने भन्ने पक्कै होइन । वर्षौंदेखिको सामाजिक संरचना होस् या कर्मचारीतन्त्र, यी दुवैले सुरुआती दिनमा बालेन्द्रलाई पनि पूर्ण सहयोग गरेनन् । राजनीतिक दलका जनप्रतिनिधिसँग समन्वय मिलाउन पनि कठिनाइ परेकै हो । अहिले उनको इच्छाशक्तिका अघि सबैले हार खाएका छन् । बालेन्द्रकै कामले पुष्टि गरेको छ कि इच्छाशक्ति र प्रष्ट योजनाले नै मानिसलाई आफ्नो कार्यमा सफलता दिन्छ ।

प्रतिक्रिया दिनुहोस्