शरणार्थी प्रकरणमा नाम जोडिएकाहरूमाथि अनुसन्धान जारी छः गृहमन्त्री



काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम आएकाहरूको विषयमा अनुसन्धान भइरहेको बताएका छन् । बिहीबार नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले सरकारले आवश्यक अनुसन्धान गरिरहेको बताएका हुन् ।

मन्त्री श्रेष्ठले कोही व्यक्तिले दिएको बयानकै आधारमा मात्रै पक्राउ गर्न नमिल्ने भन्दै थप अनुसन्धान भइरहेको बताए हुन् । श्रेष्ठले देशमा रहेको भ्रष्टाचारीहरूको जालो तिरेर देशलाई सम्वृद्धीको बाटोमा डोर्‍याउनु आजको आवश्यकता रहेको बताएका छन् ।

श्रेष्ठले भने, ‘जनतालाई हामीले जीवन फेरिएको अनुभूति दिलाउन सकेका छैनौँ । त्यसको निम्ति हामीले केही गर्नुपर्छ । हाम्रो देशमा भ्रष्टाचारको जालो धरै व्याप्त छ । कमिसनले पनि देशलाई जर्जर बनाएको छ । यो कमिसनको जालो र भ्रष्टाचारको जालोलाई नतोड्दासम्म समृद्धिको यात्रा पूरा हुन सक्दैन । अहिले हाम्रो मिसन, सुशासन, अर्थात् भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नुपर्नेछ । तब मात्रै समृद्धि हासिल हुनेछ । आफ्नै देशको नागरिकलाई अनागरिक बनाइ, अर्काको देशको शरणार्थी बनाइ विदेश पठाइ सम्पत्ति कमाउने काम सह्य हुँदैन । यस्तो प्रकारको काम भयो भन्ने कुरा अनुसन्धानमा देखिएकाले अनुसन्धानको प्रक्रियालाई अघि बढाएर अदालतमा पेस गरेका छौँ । अन्तिम फैसला अदालतले गर्छ, त्यो फैसला हामीले पर्खनु नै छ । अनुसन्धानको आधारमा हामीले अघि बढाएका छौँ । मैले नेपाल प्रहरीलाई निष्पक्ष रूपमा काम गर्न भनिसकेको छु । राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रूपमा छानबिन गर्न भनेको छु । एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन की भनेर अरू प्रमाणहरू पनि खोज्ने प्रयासमा प्रहरी छ । एउटा कसैले भनिदियो भन्दैमा पक्राउ गर्न मिल्दैन ।’ उनले नेपाली  नागरिकलाई अनागरिक बनाएर बेच्ने कार्य राज्यका लागी सह्यको विषय नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्