पासपोर्ट फ्याँकेर पाखोमा ‘सुन’ फलाउनेहरु



  • विशाल बस्नेत

महोत्तरी । २०७३ सालमा विदेश जान बनाएको पासपोर्ट फ्याँकेर कृषिमा होमिँदा महोत्तरीका विमलकुमार श्रेष्ठलाई छरछिमेकीले निकै खिसिट्युरी गरे। जग्गाजमिन प्रशस्त भए पनि बिहान–बेलुका हातमुख जोड्न बनिबुतो गर्नुपर्ने छिमेकीहरूको बाध्यताका अगाडि विमलमाथिको खिसीट्युरी स्वाभाविक पनि थियो।

तर, ५ वर्षको छोटो अवधिमा नै कृषिबाटै विमल आफूमात्र आत्मनिर्भर बनेनन्, पूरा गाउँ नै आत्मनिर्भर बनाए। त्यसपछि भने विमलको सपना रत्तिभर नपत्याउने तिनै गाउँले उनकै सिको गरेर आत्मनिर्भर बन्ने बाटोमा लागे। बर्दिबास–१० स्थित चुरे काछमा रहेको खयरमाराको दमार भञ्ज्याङका पाखामा बसोबास गर्ने गाउँलेलाइ आजकाल समय बिताउन न तास खेल्नुपर्छ, न त आर्थिक संकटका कारण घर–झगडा नै हुन्छ।

दिनभरि बारी, बगर र खेतमा टमाटर लगाउन व्यस्त देखिने गाउँलेको दैनिकी रूपान्तरण भएको छ। एकातिर भौगोलिक विकटता, अर्कातिर पर्याप्त सिँचाइको अभावमा खेतीपातीप्रतिको वितृष्णा। परम्परागत खेतीपाती समेत हुन छाडेपछि यहाँका किसानको आर्थिक सुधार हुने उपयुक्त विकल्प छोराछोरीलाई विदेश पठाउने नै बन्यो।

छोराछोरीलाई विदेश पठाउने र आर्थिक स्थिति सुधार गर्ने संस्कारकै रूपमा विकास भइरहेको बेला विमलले कृषिबाट भविष्य खोज्दा उनले भोगेको पीडा पनि सम्झिनसक्नु छ। ‘साह्रै दुःख गरियो । यतिसम्म कि परिवारको समेत साथ पाइनँ,’ उनले भने, ‘यत्रो तिघ्रा र जवान उमेरको मान्छेले के गाउँमा हल्लिएर बसेको ? विदेश पो जानुपर्छ त भन्थे।’

विमलसहित ६ जना युवा मिलेर सामूहिक टमाटर खेती सुरु गरे। यसबीचमा बर्दिबासमैै रहेको महिला बहुउद्देश्यीय सहकारी संस्थाले युवा स्वरोजगार ऋण दियो । अनि सुरु भयो विमलको कृषिको व्यावसायिक यात्रा। अहिले गाउँलेले खोलाका किनार, पाखा र बारीमा टमाटर लगाएका छन्। यहाँबाट दैनिक १० ट्रकभन्दा बढी टमाटर लोड हुन्छ, जहाँ दमार भञ्ज्याङका गाउँलेले दैनिक १० लाख रुपैयाँको व्यापार गर्छन् ।

कृषिमा सामूहिक परिश्रमबाट मात्र सफलता पाइन्छ भन्ने मान्यता बोकेका विमलले मौसमी र बेमौसमी टमाटर खेती गर्न गाउँलेलाई उत्प्रेरित गरेसँगै बर्दिबास–१० को यो ठाउँ टमाटरको पकेट क्षेत्र बनेको छ। विमलले विदेश जान भनेर बनाएको पासपोर्ट थन्क्याएर गाउँले र परिवारको ‘के गर्ला र !’ भन्ने निराशा मात्र तोडेका छैनन्, सम्भावना नदेखेर परदेशलाई रोजाइ बनाएका युवाका लागि पनि प्रेरणादायी पात्रसमेत बनेका छन् ।

‘सुरुमा कृषिमा होमिँदा बजारको सुनिश्चितता कसरी गर्ने भन्ने चिन्ता बढ्यो । तर, पर्याप्त उत्पादन गर्न सके बजार आफैँ बन्छ भन्ने मैले पछि महसुस गरेँँ,’ विमलले भने । हुन त सुरुमा बजार खोज्न विमल कहिले लालबन्दी धाउँथे त कहिले बर्दिबास । उत्पादित टमाटर बजारका लागि आफैँ बोकेर लालबन्दी र बर्दिबास पु¥याउदा विमललगायत उनका साथीहरू हतोत्साहित पनि भए ।

बोकेर बजारसम्म पुग्दा एकातिर किसानको समय बर्बाद हुन्थ्यो भने अर्कातिर बिक्छ कि बिक्दैन भन्ने चिन्ता पनि । तर, जब विमलले उत्पादनको दायरा थप बढाउनुपर्छ भनेर गाउँभरि टमाटर लगाउन उत्प्रेरित गरे, तब बजार आफैँ दैलोमै आयो। अहिले दैनिक १० वटा ट्रक काठमाडौंबाट उत्पादित क्षेत्रमा आउँछन्, अनि टमाटर लिएर जान्छन्।

विमलको सक्रियतामा सुरु गरेको समूहमा अहिले २७ जना छन् भने झन्डै सय जना गाउँलेले ६० बिगाहभन्दा बढी क्षेत्रफलमा टमाटर खेती गरेका छन्।
यहाँका किसानले मासिक १ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्छन् भने एक जना किसानले औसत २० देखि २५ हजारसम्म मासिक कमाउँदै आएका छन् ।

खेतीको दायरा हेरेर एक जना किसानले मासिक ५० हजारसम्म कमाउँँदै आएको विमलले बताए । बजार व्यवस्थापनका लागि उनीहरूले थप एउटा सहजीकरण समिति बनाएका छन्, जसले बजारको सम्भाव्यता अध्ययन गरी अन्य खेतीसमेत गर्ने तयारी गरेको छ । गाउँलेले उनै विमललाई बजार सहजीकरण समितिको अध्यक्ष बनाएका छन् ।

टमाटर रोपेको ठाउँमा अहिले खुर्सानीसमेत उत्पादन गर्ने उनीहरू गृहकार्य गरिरहेका छन् । ‘सायद पासपोर्ट बोकेर विदेश गएको भए यतिबेला पैसा त कमाउँथेँ होला । तर, आत्मसन्तुष्टि कहाँ पाउँथेँ र ?,’ विमलले उत्साहित हुँदै भने ।

विमलको लगन र मेहनतलाई प्रोत्साहन गर्न केही स्थानीय गैरसरकारी संस्थाले पनि भूमिका खेलेका छन् । सामुदायिक विकास तथा पैरवी मन्च नेपाल, हेफर जस्ता संस्थाले साथ दिएको विमलले बताए। सुरुमा पासपोर्ट फ्याँकेर कृषिमा होमिँदा विमलका बाबु–आमाले पनि पत्याएनन्।

प्रशस्त जग्गा–जमिन भए पनि कृषिमा काम गर्दा–गर्दा जीविकोपार्जनमा नै अभाव झेलिरहेका विमलका बुढा बाबु–आमाको चाहना छोरा विदेश गइदेओस् अनि पैसाको जोहो गरोस् भन्ने थियो। तर, बाँझो जमिनमा सुन पाइन्छ भन्ने चरितार्थलाई विमलले प्रमाणित मात्र गरेका छैनन्, खेतीपातीप्रति गाउँलेको दृष्टिकोण नै परिवर्तन गरिदिएका छन्। विमलले कृषिबाट भविष्य खोजिरहेका बेला खिसीट्युरी गर्ने किसानको माटोप्रतिको श्रद्धा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्